रेडियो मेलौली
श्रावण ०४ सोमबार,२०७८
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउन काम गर्ने निर्णय गरेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको हो।
छलफलमा सहभागी एक नेताले समसामयिक राजनीतिक घटना क्रमको विश्लेषण गर्दै सरकारमा दोस्रो बरिएतामा पनि कांग्रेसकै मान्छे हुनुपर्ने निष्कर्ष निकालेको जानकारी दिए।
संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा कांग्रेसको काँधमा आएको निष्कर्ष बैठकले निकालेको ती नेताले जानकारी दिए।
सत्ता गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताको लागि काम गर्ने उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धैर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ।
पौडेल पक्षको बैठकले सरकारको सेकेन्ड पोजिसन पनि कांग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको छ। त्यसमा आफ्नै समूहको नेताले अवसर पाउनुपर्नेमा पनि पौडेल पक्षले जनाएको छ।
त्यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिने जनाइएको छ। छलफलमा क्रियाशील सदस्यताका सन्दर्भमा देखिएको विवादबारे पनि छलफल भएको बुझिएको छ।
संस्थापन इत्तर पक्ष निकट क्रियाशील छानविन समितिका सदस्यले क्रियाशील सदस्यताबारे देखिएको विवादको बिफ्रिङ गरेका थिए।