महेशदत्त भट्ट
विस २०३५ सालमा सुरु भएको पाटन–पञ्चेश्वर सडक राष्ट्रिय गौरवको योजना हो। पाटन–पञ्चेश्वर सडक पञ्चेश्वर बहुउद्देशीय आयोजनाको ड्याम स्थलसम्म पुग्ने सडक हो। आयोजनासम्म जोड्नका लागि सो सडकको अवधारणा ल्याइएको हो।आज करिव ४५ वर्ष वितिसक्दा पनि यो सडक निर्माण कार्य पुरा हुन सकेको छैन।
सडकखण्डको शुरुवात विन्दु देखिनै साघुरो, पहिराम्मे, हिलाम्मे र लथालिङ्ग अवस्थामा छ। केही खण्ड कालोपत्रे भएको छ। कालोपत्रे भएता पनि त्यसको रेखदेख गर्ने कुनै निकाय नभएकाले नालीहरु पहिरो आएर पुरै बन्द भएका छन्। खाल्डाखुल्डी भएर सडक लथालिङ्ग, भताभुङ्ग अवस्थामा छ। करिब पाँच÷सात मिटर चौडाबाटो दुवैसाइड तर्फ पहिरो गएर अत्यन्तै साघुरो बनेको छ। राज्यको करोडौं रकम खर्च भएको छ, त्यसको उचित मर्मत सम्भार, सडक रेखदेख र सरसफाई गर्ने लेन्थवर्करको समेत व्यवस्थापन नहुँदा राज्यको लगानी बालुवामा पानी भएको छ।
तल्लो स्वराडका मेलौली, शिवनाथ, पञ्चेश्वरका जनताहरुले पटकपटक आन्दोलन गर्दा बल्लतल्ल ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप), आरसीआइ डब्लु र सडक डिभिजन बैतडीले टुक्राटुक्रा गरी सडक खन्ने काम गरेको थियो। तर, आर सिआइ डब्लुले भने सम्झौता बमोजिम काम नगरी निर्माण कार्यबाट हात झिक्यो। विभिन्न आरोह र अवरोध विच लामो समयसम्म अलपत्र पारिएको सडकभौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आपूm मन्त्री हुँदा पाटन–पञ्चेश्वर सडक खण्डमा करिब६५ करोड रुपैयाँ विनियोजन गरी ठेक्का आह्वान गरिएको थियो। सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको थियो। तर, संघीयतापछि तीन तहका सरकार बनेपछिनेपालको गौरवको पञ्चेश्वर परियोजनासम्म जोडिने सडक पाटन–पञ्चेश्वर केन्द्रीय मापदण्डबाट हटाएर प्रदेश सरकार मातहत राखियो।
के हो पाटन पञ्चेश्वर सडक ?
बैतडीको पाटनदेखि पञ्चेश्वर सडक पञ्चेश्वर आयोजनाको ड्याम स्थलसम्मपुग्ने सडक हो। यो सडक करिब ६५ किलोमिटर रहेको छ। यो सडक खण्डले बैतडी जिल्लाको तल्लो स्वराडको ठूलो भू–भागलाई ओगटेको छ।नेपाल–भारत सीमा नदी महाकालीको पञ्चेश्वरमा बन्ने आयोजना स्थलसम्म सडक पु¥याउने उद्देश्यले सडक निर्माण कार्य सुरु भएको हो। स्थानीय कला संस्कृति, चाडपर्व, प्राकृतिक सौन्यर्दताले यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो महत्व राख्दछ। मुद्राको दृष्टिकोणले नुनदेखि खाद्यान्न खरिद बिक्री वितरण तथाआर्थिक कारोबारका क्षेत्रमा भारतीय मुद्रा नै चलन चल्तीमा छ। अझै त्यहाँका केही मानिस नेपाली रुपैयाँ चिन्दैनन्। अहिलेको संरचना अनुसार पाटन–पञ्चेश्वर सडक खण्डमा पर्ने पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले जिल्लाको जनसंख्या र भुभागको दृष्टिकोणले ठूलो हिस्सा लिएको छ। यस क्षेत्रमा थुप्रै महत्वपूर्ण मठमन्दिरहरु रहेका छन्। यो सडक निर्माणले पर्यटन व्यवसाय र यहाँ उत्पादीत तरकारी, फलफुल विक्रि वितरण गरी कृषि व्यापार पनि फस्टाउने देखिन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सदियौं देखि २०/२५ कोषको पैदल यात्रा गरेर जिल्ला सदरमुकाम तथा मजदुरीका लागि छिमेकी राष्ट्र भारत तर्फ जानका लागि जटिल यात्रा गरेकोपीडा अझै स्वराडबासी विर्सेका छैनन्।
के हो पञ्चेश्वर बहुउद्देशीय आयोजनाः¬–
वि.सं. २०५२ सालमा नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभिनरसिंह रावले भएका बेला एकीकृत महाकाली सन्धिभएको थियोे। यस सन्धिमा ६ हजार चार सय असी मेगावाट विद्युत उत्पादन हुने पञ्चेश्वर बहुउद्देशीय आयोजना बनाउन दुई देशीय सम्झौंता भएको हो। सन्धिमा पानी बराबरी र लागत पनि बराबरीको सम्झौता भएको हो।
यसले नेपालका तर्फ मात्र ११५ बर्ग किमि भु–भाग ओगट्ने सर्वेक्षणले बताएको छ। उक्त आयोजनाबाट करिब २५८ हेक्टर जमिन डुबानमा पर्छ। करिब ५५–६० अरब रुपैयाँ वार्षिक रुपमा आम्दानी हुने यो आयोजना निर्माणले हुने क्षति भन्दा कयौं गुना लाभांश छ। यसमा नेपालका तर्फबाट लाग्ने लागत, मुआब्जा लगायतका खर्चहरु २/३ वर्षमै असुल हुने तथ्यांकले देखाएको छ ।यो नेपालका लागि गौरवको योजना हो।
एकीकृत महाकाली सन्धि अन्तर्गत नेपालले सन् १९९५ मा आफ्नो तर्फबाट पहिलो डिपिआर निर्माण गरेको थियो । करिब२८ वर्ष वितिसक्दा पनि आयोजना अलपत्र अवस्थामा छ।
नेपालमा जलविद्युत् विकास गर्नका लागि केही विगतको अस्थिर राजनीतिका कारण बन्न सकेन र यो मात्रै पूर्ण तर्क होइन यो देशको जलविद्युतको विकास हुन नदिनका लागि हरियो डलरको खेती गर्नेहरुका कारण यो आयोजना बन्न नसकेको विज्ञहरुको धारणा छ।
अहिले पञ्चेश्वर आयोजना अन्तर्गत नेपाल र भारतबाट पञ्चेश्वर विकास प्राधिकरणका रुपमा सुस्त गतिमा काम भइरहेको छ। यो आयोजना बन्यो भने यो देश आर्थिक रुपमा समृद्ध हुने र कायापलट नै हुने सम्भावना छ। यसबाट उत्पादन हुने विद्युत्, सिँचाइ, जलाशय भित्र हुने माछापालन, पर्यटकीय आगमनले हाम्रो देशमा पैंसाको खोलो बग्ने थियो। निर्माण पश्चात् दातालाई हार गुहार गर्ने दिन जान्थे।
यो आयोजनाले देशको मुहार नै फेरिने निश्चत छ। तर, किन चुकेको छ नेपाल। यसमा थुप्रै प्रश्न उब्जन सक्छन-राजनीतिक अस्थिरता मात्रै प्रमुख कारण हो? डलरको खेती गर्नेहरुको रणनीति हो अथवा भारतको मनसाय नभएको हो? अथवा नेपाल नै तयार भएको होइन? यी प्रश्नहरुका बिच रहेको पञ्चेश्वर आयोजनामा अहिले ध्यान केन्द्रित हुनु जरुरी छ।
हाम्रो देशको मुख्य आम्दानीकोश्रोत भनेकोजलविद्युत् उत्पादन र पर्यापर्यन नै हो। शान्तिका लागि सम्वृद्धि चाहिन्छ, सम्वृद्धिका लागि विकास चाहिन्छ, विकासको पहिलो पूर्वाधार जलश्रोतबाट उत्पादन हुने उर्जा चाहिन्छ। त्यसकारण निश्कर्षमा भन्नु पर्दा पाटन–पञ्चेश्वर सडक खण्ड र पञ्चेश्वर बहुउद्देशीय योजना एक आपसमा अन्तरसम्बन्धीत योजना हुन। यस्ता योजनाहरु अलपत्र पारेर कसैको भलो हुँदैन।