संसद्को गतिरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दैछ।
शीतल निवासमा बिहान साढे ८ बजेपछि बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु उपस्थित हुँदैछन्। यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता केपी शर्मा ओली, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग संसद्को गतिरोध अन्त्यका लागि छलफल गर्नुभएको थियो।
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले पनि छुट्टाछुट्टै छलफल गर्दै आउनुभएको छ। प्रधानमन्त्रीको आह्वानमा हिजो पनि सर्वदलीय बैठक बसेको थियो। राष्ट्रपतिसँग छलफलपछि आज पनि दलहरुको छुट्टै बैठक बस्ने तयारी छ।
दलहरुबीच सहमति नभएपछि हिजो बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलिसम्मको लागि स्थगित गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको ६० किलो सुन प्रकरणमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय छानबिन समितिको माग गरेर साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ।
सरकार र सत्तागठबन्धनमा आबद्ध रहेका दलहरुले भने उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन्।