यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन। लम्पी स्किन रोगका कारण गाइगोरु थला परेपछि किसानले समयमा धान रोपाइँसमेत सिध्याउन सकेनन्। पहिलोपटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखापरेको लम्पी स्किन रोगको संक्रमण मुलुकभरि फैलिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाँच महिनाको अवधि संक्रमित पशु संख्या १३ लाख ५ हजार ३ सय ६१ पुगेको छ । अझै पनि १ लाख ७५ हजार ५ सय ५३ रहेको छ ।
किसानको जीवनपद्धतिसँग गाँसिएका पशु बिरामी हुँदा पनि राज्य भने गम्भीर हुन सकेको छैन भने राज्य संयन्त्र पनि पशु मरेको त हो नि भनेर उदासीन हुने गरेको आरोप किसानको छ ।
यद्यपि, अहिलेसम्म उपचारपश्चात् निको भएको पशुको संख्या भने १० लाख ८२ हजार १ सय ५९ पुगेको छ । हाल सक्रिय संक्रमणबाट ४७ हजार ६ सय ४९ पशुको मृत्यु भइसकेको छ ।
ती पशुको मृत्युबाट किसानको करोडौं नोक्सानी भएको छ । एउटा पशुको मूल्य नै ५० हजारभन्दा बढी पर्ने र अन्य कृषि उत्पादनसँग जोडिने भएकाले किसान मर्माहत भएका छन् । अधिकांश कृषकको पशु बिमा नभएका कारणले पनि पीडा भएको हो ।