सुदूरपश्चिमेलीको गौरापर्व शुरु

बैतडी- सुदूरपश्चिममा आजदेखि गौरापर्व सुरु भएको छ। गौरा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व पनि भएकाले गाउँघरमा चहलपहल बढेको छ ।
पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ ।
गौरा पर्वको पहिलो दिन महिलाहरुले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । ब्रतालु महिलाहरुले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामुहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ।

गौरापर्व सुदूरपश्चिमको मौलिक चाड रहेको समेत हो ।यो पर्वमा खास गरेर विवाहित महिलाहरुले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । बिरुडापञ्चमीकै दिनदेखि ब्रतालु महिलाहरुले गौराको पूजाआजा गर्ने गरेका बैतडीको दोगडाकेदार ३ श्रीकोट सुनखोलाका कमला जोशीले बताउनुभयो।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुराउँस मिसाएर तामा वा पित्तलका भाडामा बिरुडा भिजाएका छन् । पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ । सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् । केही ठाउँमा आजदेखि गौरापर्व शुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व शुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषहरुले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथीप्रति असन्तुष्टी जनाएका छन् ।

तर भदौ २१ गते अगस्ती उदय भइसक्ने भएकाले भदौ ७ गते नै गौरा मनाउनुपरेको ज्योतिष डिल्लीराज जोशीले बताए । भदौ ७ गते गौरा मनाउने ठाउँमा आजदेखि गौरापर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरेका हुन् ।

शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भन्ने चलन रही आएको छ ।

Leave A Reply

Your email address will not be published.