आज बैतडी सहित सुदूरपश्चिममा गौरादेवी भित्र्याईदै

बैतडी । आज बैतडी सहित सुदूरपश्चिममा गौरादेवी भित्र्याईने भएको छ। स्थानीय भाषामा भितरीकी गौरा अर्थात ‘ठूली गौरा’ भनिने आजको दिनमा गौरा भित्र्याईने गरिन्छ।

व्रत बसेका महिलाले सामूहिक रुपमा धान, साउँ, कुस, अपामार्ग लगायतका बोटबिरुवा प्रयोग गरी गौरा देवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठनाका साथ गौरा भित्र्याईने गरिन्छ। भाद्र पञ्चमी तिथिका दिन घर घरमा तामा वा पित्तलको सफा भाँडोमा पाँच थरीका गेँडागुडी अर्थात् ‘बिरुडा’ भिजाएर राखिएपछि यो पर्वको औपचारिक रूपमा सुरु भएको मानिन्छ। सुदूरपश्चिममा गौरा पर्वलाई विशेष महत्वका साथ हेरिन्छ ।

‘बिरुडा’ भिजाएर राखिने भाद्र पञ्चमीको दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ। सप्तमी तथा अष्ठमीका दिन गौरी र महेश्वरको महिलाद्वारा सामूहिक रुपमा पूजा गरिन्छ। पूजा गर्नु अघि घरमा भिजाएर राखिएको बिरुडालाई सामूहिक रुपमा पँधेरो वा जलाशयमा लगेर धार्मिक अनुष्ठानका साथ धोइन्छ। यसलाई ‘नोलाइ’ गौरा भनिन्छ। पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ पाँच थरीका गेँडागुडीको विशेष महत्व हुन्छ। ‘बिरुडा’लाई गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा छ। पूजाको काम सकिएपछि छर छिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसले पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ।

पूजाको काम सकिएपछि हरेक दिन महिला पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा, खेल खेलेर रमाउने गर्छन्। चैत र धमारी सम्बन्धी गीतले देवीदेवताको महिमा, पुराना वीरयोद्धा, राजा महाराजाका वीरगाथा, आफ्नो गाउँ ठाउँका पर्यटकीय, ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण स्थल, हिन्दू सभ्यता र संस्कृतिको महत्व दर्शाउने गरेको बताइन्छ।

गौरादेवीको पूजाआजा गर्दा विवाहिता महिलाले आफ्नो पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने पनि जनविश्वास छ। यसै पर्वदेखि विवाहिता हिन्दु महिलाले अर्को वर्षको गौरा पर्व नआउँदासम्म धागोबाट बनाइने ‘दुव–धागो’ आ–आफ्नो घाँटीमा धारण गर्ने चलन छ। यो दुव-धागो गौरा देवीलाई चढाएपछि मात्र महिलाले आफूले ग्रहण गर्ने गर्दछन्। यो पर्व मनाउन एक ठाउँमा भेला हुने अवसर मिल्ने भई आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने, इष्टकूल देवता खुसी हुने, सामाजिक विकृति विसङ्गति, कुशासन विरुद्ध देउडा खेलका माध्यमबाट तिखो व्यङ्ग गरिने हुँदा यसले समाजलाई सही बाटोमा डो¥याउन मद्दत पु¥याउने विश्वास गरिन्छ। अनुकूल तिथि र साइत हेरेर दिन यो पर्व विसर्जन गरिन्छ।

पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकाङ्क्षा पूरा भएको सम्झनामा सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको भनाइ छ। गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको पनि अर्को भनाइ रहेको छ।

यो बर्ष अगस्ती उदयको दोष भएकाले भदौ ७ गते नै गौरा पर्व मनाइन लागिएको ज्योतिषहरुले बताएका छन। मेलौलीका सबै वडाहरुमा भदौ ७ गते नै गौरा मनाईने जनाईएको छ। तर भदौ ७ को तिथीमा कतिपय ज्योतिषहरुले भने असन्तुष्टी जनाएका छन्। गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाइने भएकाले यो बर्षको गौराको उपयुक्त तिथी भदौ २१ नै रहेको केहि ज्योतिषहरुले बताउदै आएका छन।

संघ र सुदूरपश्चिम प्रदेश सरकारले पनि भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएकाले धेरै जसो ठाउँमा ७ गते मनाईने भएको छ। भदौ ७ गतेको गौराका लागि भदौ ४ गते बिरुडा पञ्चमी, भदौ ५ गते नानी गौरा, भदौ ६ गते अमुक्ताभरण सप्तमी र भदौ ७ गते गौराष्टमी राखिएको छ। भदौ २१ गते गौरा मनाइने स्थानमा भदौ १८ गते बिरुडा पञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी राखिएको छ।

Leave A Reply

Your email address will not be published.