सुदूरपश्चिमका पहाडी समुदाय आज गौरा एकादशी पर्व मनाइँदैछ। हरेक बर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रुपमा मनाउने गरिएको छ। आजको दिन गौरा उपासना गर्ने महिलाहरुले ब्रत बस्ने गर्दछन्।
गौरा पर्व उपासना गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीको ब्रत बस्नुपर्ने परम्परा रही आएको छ। पहिलो पटक गौराको ब्रत लिने महिलाहरुले अनिवार्य रुपमा गौरा एकादशीको ब्रत उपासना गर्नुपर्ने परम्परा रहेको छ।
गौरा उपासना गर्ने महिलाहरुले आज ब्रत बसेर साँझको समयमा पूजाआजा गर्ने चलन रही आएको छ। गौरामा दुवधागो धारण गर्ने ब्रतालु महिलाहरुले गौरा एकादशीबाटै गौरा पर्व शुरुवात भएको मान्ने गरिएको छ।
गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भाद्र शुक्ल अथवा कृष्ण पक्षमा मात्रै गौरा पर्व मनाउने चलन रही आएको स्थानीय संस्कृतिका जानकारले बताए। ‘गौराको ब्रत लिनु अघि गौरा एकादशीको ब्रत लिने परम्परा रही आएको छ।’
यो बर्ष सुदूरपश्चिमका कतिपय ठाउँमा गौरा एकादशी अघि नै गौरा पर्व मनाइसकिएको छ। अगस्ती उदयका बिषयमा ज्योतिषहरुबीच मत बाझिएपछि यो बर्ष दुइै गौरा भएका हुन्। गौरा एकादशी र जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेका ठाउँमा भदौ १८ गतेदेखि गौरा मनाउने तयारी छ।
तर गौरा एकादशी अघि नै दुबधागो धारण गर्न सकिने चलन रहेका ठाउँमा भदौ ७ गते गौरा मनाइसकिएको छ। गौरा एकादशी, जनैपूर्णिमा र त्यसपछि गौरा पर्व मनाउने प्रचलन रही आएको भन्दै धेरै ठाउँमा भदौ २१ मा गौरा मनाउने तयारी छ।
श्रावण शुक्ल एकादशी अर्थात पुत्रदा एकादशीलाई नै गौरा एकादशीको रुपमा मान्ने गरिएको छ। सन्तान प्राप्ति, सन्तान सुख, पारिवारिक शान्ति र समृद्धिका लागि गौरा पर्व मनाइने भएकाले पुत्रदा एकादशीलाई गौरा एकादशीको रुपमा मान्ने गरिएको स्थानीय संस्कृतिका जानकारले बताए।
हरेक बर्ष भाद्र शुक्ल अथवा कृष्ण पक्षको पञ्चमी तिथीबाट गौरा पर्व शुरु हुने गर्दछ। त्यो भन्दा अगाडि साउन शुक्ल एकादशीलाई गौरा एकादशीको रुपमा ब्रत बस्ने चलन रही आएको हो। भाद्र शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा र भाद्र कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको छ।