दुर्गास्थानमा क्याम्पस स्थापनाको पहल सुरु, पहिलो दिनको भेलाबाट साढे ७ लाख संकलन

बैतडी । मेलौली नगरपालिका–२ स्थित केदारेश्वर मावि दुर्गास्थानमा स्नातक तहसम्मको पढाइका लागि आवश्यक छलफल भएको छ। शनिबार विद्यालयको प्राङ्गणमा सरोकारवाला निकायको उपस्थितिमा छलफल भएको हो।

छलफलमा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्द, मेलौली २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, मेलौली ३ का वडा अध्यक्ष गगन सिंह भाट, दशरथचन्द नगरपालिका ७ का वडा अध्यक्ष हरिदत्त बडु, पाटन ५ का वडा अध्यक्ष फुनि सिंह बोहरा लगायत ३ वटै नगरपालिकाका अभिभावकहरुको सहभागिता रहेको थियो।

मेलौली नगरपालिकाका नगर प्रमुख चन्दले यस क्षेत्रमा क्याम्पसको आवश्यकता रहेको भन्दै नगरपालिकाबाट हुने आवश्यक सहयोग प्रदान गर्ने प्रतबद्धता ब्यत्तल गरे। आवश्यक पुर्वाधार र अन्य सहयोगको लागि नगरपालिकाबाट सहयोग हुने उनले बताए।

छलफलका सहभागि जनप्रतिनिधि र अभिभावकहरुले क्याम्पस स्थापना गर्नमा जोड दिएका थिए। ३ वटै स्थानीय तहको पायक पर्ने स्थानमा रहेकाले दुर्गास्थानमा क्याम्पस सञ्चालन गर्न सबैले सहयोग गर्नुपर्ने पनि विद्यालयले आग्रह गरेको छ। यसैगरी आज बसेको बृहत आमभेलाबाट ७ लाख ५९ हजार ८५१ रुपैया संकलन गरिएको छ। डेढसय बढी अभिभावकहरुको सहभागितामा उक्त रकम संकलन भएको र सबै प्रतिनिधिहरुले क्याम्पस सञ्चालन गर्नेमा सकारात्मक देखिएको बिद्यालयका प्रद्यानाध्यापक लक्ष्मण बागले बताए।

यही भदौ १ गते सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन लिनको लागि निवेदन पेश गर्न जारी गरेको सूचनाको आधारमा उक्त विद्यालयाई पनि स्नातक तहसम्मको क्याम्पस सञ्चालनको लागि विद्यालयले आन्तरिक तयारी थालेको हो।

क्याम्पस सञ्चालनको लागि कुनै एक संकाय सञ्चालन गर्न न्युनतम १५ लाख धरौटी बुझाउनु पर्ने, शिक्षकको सुनिश्चितता, भौतिक पूर्वाधारको उपलब्धता, सुपरिवेक्षक खर्च लगायतका प्रक्रिया पु¥याउनुपर्ने हुन्छ। सम्बन्धन गर्ने अधिकार विश्वविद्यालमा निहित हुने छ।

Leave A Reply

Your email address will not be published.