सुदूरपश्चिममा ह्वात्तै बढ्यो डेङ्गु संक्रमण, हिमाली क्षेत्रमा पनि जोखिम

बैतडी -सुदूरपश्चिम प्रदेशमा डेङ्गु संक्रमण ह्वात्तै बढेको छ । सन २०२३ को पछिल्लो चार महिनाको तथ्यांक हेर्दा यहाँ डेङ्गु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकोमा जुलाईमा त्यो संख्या बढेर ५८ पुगेको छ ।

यस्तै अगस्त महिनामा भने डेङ्गु संक्रमण ह्वात्तै बढेको पाइएको छ । अगस्तको हालसम्म दुईसय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

सुदूरपश्चिममा सन २०२३ को हालसम्म पाँचसय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ । उनले भने,“अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु संक्रमितको संख्या अधिक बढेको पाइएको छ । गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो ।” यसअघि सन २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५ जनामा संक्रमण देखा परेको थियो ।

प्रदेशको तथ्यांक अनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एकसय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा एकसय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझांगमा १२, डडेल्धुरामा नौं र बैतडीमा छ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन् । गत वर्ष यस प्रदेशमा एकहजार दुईसय ८९ जनामा संक्रमण देखिएकोमा चारजनाको मृत्यु भएको थियो ।

लामखुट्टको टोकाईबाट हुने डेङ्गु गर्मी र वर्षातको समय भएकोले बिरामीको संख्या बढ्न थालेको जोशीले बताए । उनले भने,“डेङ्गुको जोखिम कात्तिकसम्ममै रहन्छ । वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र लामखुट्टेको टोकाईबाट संक्रमण पनि हुन जान्छ ।”

हिमाल र पहाडमा पनि देखिन थाल्यो

तराईका जिल्लामा बढी हुने डेङ्गु संक्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको जोशीले बताए । पछिल्लो समय तराईबाट लामखुट्टे पहाड उक्लिएकाले पहाडमा पनि जोखिम बढ्दै गएको छ । उनले भने,“ हिमाली क्षेत्र भनेर चिनिने दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ ।

दार्चुलामा प्रदेशकै बढी संक्रमित पनि भेट्टिएका छन् ।” पहाडमा पनि डेङ्गु संक्रमण बढ्दै गएको र संक्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले भने,“तराईबाट लामखुट्टे पहाड उक्लिएर यहाँ पनि डेङ्गु संक्रमण बढेको छ । सबैले सचेत रहन आवश्यक छ ।” डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखा पर्ने गर्दछन् ।

यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्ने निर्देशनालयले जनाएको छ । डेङ्गु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किटहरु आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानिय तहहरुले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताए ।

वर्षातमा दैनिक रुपमा डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.