पाकिस्तान र श्रीलंकामा ।एसिया कप एकदिवसीय क्रिकेट हुदैंछ ।
जसमा नेपाल पहिलो पटक खेल्दैछ ।
भोलि बुधबारदेखि सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा एकदिवसीय वरियतामा विश्वकै पहिलो नम्बरमा रहेको पाकिस्तान र नेपाल आमने सामने हुनेछन्
एसिया कपमा डेब्यू गर्न लागेको नेपालले यसबाट धेरै कुरा सिक्ने र खेलाडीहरुको प्रदर्शनको आधारमा विदेशी फेन्चाइज लिग खेल्ने बाटो पनि खुल्नेछ ।
विश्व क्रिकेटका दुई पावर हाउस मानिएका भारत र पाकिस्तानसँग खेल्न लागेको नेपाललाई विश्वले चिन्नेछ ।
नेपालको पहिलो भेट भोलि भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग रहेको छ ।
क्रिकेट इतिहासमै नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
घरेलु टोली पाकिस्तानको सामना नेपालले भोलि दिउँसो सवा ३ बजे मुल्तान क्रिकेट रंगशालामा गर्नेछ ।
त्यष्सपछि भारतसंगको खेलका लागि नेपाली टोली श्रीलंका जानेछ ।
नेपाल र भारतबीचको भेट भदौ १८ श्रीलंकाको कान्डीमा हुनेछ ।
नेपालले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध राम्रो गरेर विश्वलाई देखाउनु पर्ने आवश्यक छ ।
पाकिस्तानका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको बलको सामना गर्नुपर्नेछ ।
यसका साथै विश्व क्रिकेटका उत्कृष्ट ब्याटर बाबर आजम, विराट कोहली, रोहित शर्माजस्ता खेलाडीलाई नेपाली बलरले आउट गर्नुपर्नेछ ।
बलियो आत्माविश्वास रहेको नेपाली टोली निडर भएर खेल्न आवश्यक छ ।
युवाले भरिएको नेपाली टोलीमा सन्दीप लामिछाने,कुशल भुर्तेल, कुशल मल्ल,आसिफ शेख,सोमपाल कामी,करण केसी, रोहितकुमार पौडेल,गुल्शन झा, दीपेन्द्रसिंह ऐरी,भीम सार्कीबाट उच्च प्रदर्शनको आशा गरिएको छ ।
एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै एसियाकपमा स्थान बनाएको नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । तर पाकिस्तानसामू जित निकाल्न चुनौतीपूर्ण हुनेछ ।
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले भने हामी जित्नकै लागि प्रतियोगिता खेलिरहेको बताउनुभयो ।
नेपालले ओडिआई मान्याता जोगाएदेखि उच्च मनोबलका साथ खेलिरहेको र विश्वकप छनौट खेलेकाले पनि धेरै कुरा सिकेको देशाईको दाबी छ ।
विश्व स्टारको बाहुल्यता भएको यी दुई देशसंगको खेलमा एसोसिएट क्रिकेटमा राम्रो प्रभाव रहेको नेपाली युवा टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा रहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
क्रिकेट अनिश्चितताको खेल रहेकोले यसमा कुनैपनि भर नहुने भएकाले जे पनि हुनसक्ने चन्दको भनाई छ । नेपाली युवा टोली उच्च मनोबलका साथ मैदान उत्रने र जित्ने लक्ष्यका साथ खेल्ने चन्दले बताउनुभयो ।
पाकिस्तान क्रिकेट बोर्डको निमन्त्रणामा अध्यक्ष चन्द एसिया कपका लागि पाकिस्तान प्रस्थान पनि गर्नुभएको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपलाई यादगार बनाउन तत्पर रहेको बताएका छन् ।
पौडेलले सामाजिक सञ्जालमार्फत आफूहरुप्रति पूरा राष्ट्रको आशा भएकोले यसलाई यादगार बनाउने बताएका हुन् ।
विभिन्न चुनौतीको सामना गर्न, सपना पछ्याउन र जोशका साथ खेल्न अघि बढेको बताउदै पौडेलले ब्याटको हरेक स्ट्रोक, हरेक क्याच र मैदानका हरेक क्षण लक्ष्यतर्फ अघि बढेको उद्घोष गर्नुभयो ।
टिम एकता,समर्पण र सदाझैं साथ र समर्थनले हामी एकाग्र भएर अघि बढेको र लामो इतिहासको आशा रहेको पौडेलले बताउनुभयो ।
नेपाली टोलीका मुख्य खेलाडी सन्दीप लामिछानेले भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा भएको बताउदै त्यो खेलमा हामी जित हार भन्दा पनि सिक्न सक्ने कुराहरु एकदमै महत्वपूर्ण हुने बताउनुभयो ।