नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेका छन् ।
पाकिस्तान क्रिकेट बोर्डको निमन्त्रणामा भोलिदेखि सुरुहुन लागेको एसिया कपका लागि पाकिस्तान गएका हुन् ।एसिया कप अन्तर्गत भोलि बुधबार मुल्तानमा दिउँसो सवा ३ बजे नेपाल र पाकिस्तानबीच खेल हुँदै छ ।चन्द आज विहान ११ः२० को कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तानमा उत्रेका हुन् ।
पाकिस्तानसँगको खेलपछि नेपाली टिम उतैबाट श्रीलंका जाने छ ।श्रीलंकमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
अध्यक्ष चन्द पनि उतैबाट श्रीलंका गएर भारतविरुद्धको खेल पनि हेर्ने छन् ।श्रीलंकामा हुन लागेका भारतविरुद्धको खेलमा नेपालबाट युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ पनि जाने बुझिएको छ ।
तर, युवा तथा खेलकुदमन्त्री लिम्बू अहिले विरामी रहेकाले अहिले नै जाने या नजाने भन्ने विषयमा एकिन भइनसकेको उनको सचिवालयले जनाएको छ ।पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पाकिस्तान र भारतसँग खेल्न लागेकाले ऐतिहासिक महत्व रहेको छ ।
पाकिस्तान र श्रीलंकामा रहँदा नेपाल क्रिकेट विकासका विषयमा त्यहाँका पदाधिकारीसँग छलफल हुने क्यान अध्यक्ष चन्दले जानकारी दिए ।