बैतडी -सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले संघीयता सफल बनाउन प्रदेश सरकार बलियो हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बुधबार गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो हुनु आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“ प्रदेशलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयताको सफल कार्यान्वयन हुन्छ । संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकार बलियो हुन आवश्यक छ । संघीय सरकारले पनि बनाउनुपर्ने कानुन समयमा नबनाउँदा प्रदेश सरकारलाई अप्ठ्यारो भएको छ । ”
मन्त्री भट्टले कानुनको अभावमा विभिन्न कामहरु गर्न अप्ठ्यारो भइरहेकाले बताउदैं आफ्नो ध्यान प्रदेशका कानुन निर्माणमा केन्द्रित रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ कानुनहरु नबन्दा धेरै कामहरु गर्न सकिएको छैन्, अबको ध्यान सबै कानुन निर्माणमै केन्द्रित छ ।”
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गृह र सञ्चार मन्त्रालयको समेत काम गर्ने भएपनि त्यसका लागि आवश्यक संरचना र कर्मचारीको अभाव रहेको बताउनुभयो । यसका साथै मन्त्री भट्टले समग्र विकासका लागि आफू सधै लागिपर्ने बताउदैं बैतडीमा दुई बर्षभित्र विद्युतीकरण भइसक्ने दाबी गर्नुभयो ।
जिल्ला अस्पातल बैतडीमा दरबन्दी अनुसारका डाक्टरको व्यवस्थापनका लागि संघीय स्वास्थ्य मन्त्रीसंग कुराकानी गरेको बताउँदै मन्त्री भट्टले अस्पतालमा जनशक्तिको व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । मेलौलीमा इलाका प्रशासन कार्यालय,इलाका प्रहरी कार्यालय स्थापना र खानेपानी समस्या समाधानका लागि पहल भइरहेको मन्त्री भट्टले बताउनुभयो ।
मन्त्री भएपछि सोमबार पहिलो पटक गृह जिल्ला बैतडी पुगेका मन्त्री भट्ट विभिन्न कार्यक्रममा व्यस्त रहनुभएको छ ।