बैतडी जीप दुर्घटना अपडेट, घाइते दुबैजना धनगढी रेफर

बैतडीको पाटन-मेलौली सडकखण्ड अन्र्तगत पाटन नगरपालिका-६ अड्तोलामा जीप दुर्घटनामा घाईते भएका दुबैजनालाई धनगढी रेफर गरिएको छ। डडेल्धुराबाट मेलौली आउदै गरेको म १ ज ३०१ नम्बरको बोलेरो जीप मंगलबार राती साढे ९ बजे अड्तोलामा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर घाइते भएका बैतडीको शिवनाथ गाउँपालिका-१ का प्रकाश चाँड र उनकी ५ वर्षीया छोरी अनुस्का चाँडलाई धनगढीको माया मेट्रोमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।

दुर्घटना लगत्तै घाइते दुबै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको थियो। दुबैजनाको टाउकोमा चोट र रगत जमेकाले डडेल्धुरा अस्पतालबाट पनि धनगढीको माया मेट्रोमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनाग्रस्त जीप नालामा खसेको हो। जीपमा सवार ११ जना रहेका भएपनि अन्य यात्रुहरुको अवस्था सामान्य रहेको छ।

जीपका चालक शिवनाथ गाउँपालिका २ का पदमराज कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.