लिबियामा विनाशकारी आँधी र बाढीका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३ सय जना पुगेको छ। पूर्वी लिबिया सरकारका नेताले कम्तिमा दुई हजार ३ सय मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।
अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार आँधीका कारण झण्डै दश हजार मानिस बेपत्ता रहेका र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ। गएको आइतबार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो।
सबैभन्दा बढी प्रभावित सहर डेरनामा दुई वटा बाँध र चार वटा चारवटा पुल भत्किएपछि सहर पुरै डुबेको छ। उद्धार टोलीहरू समुद्रमा बगेको शव निकाल्न संघर्ष गरिरहेका छन् । सहरको बीचमा खोला बगेको र घर, गाडी, विद्यालय लगायतका संरचनाहरु बगाएको भिडियो फुटेजमा देखिएको खबरमा उल्लेख छ।
त्यहाँ इजिप्टबाट समेत केही सहायता आउन थालेको छ, तर लिबियाको राजनीतिक अवस्थाले गर्दा उद्धार प्रयासमा बाधा पुगेको छ। अमेरिका, जर्मनी, इरान, इटाली, कतार र टर्कीले भने सहयोग पठाइरहेका बीबीसीको खबरमा उल्लेख छ।