बैतडीः यात्रु सहायता कक्षबाट झण्डै ६ हजार जनाले सेवा लिए

कात्तिक २४, बुधबार २०७८-

बैतडी चाडपर्वको समयमा यात्रुको सहजताका लागि बैतडीका विभिन्न स्थानमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट झण्डै ६ हजार जनाले सेवा लिएका छन् । चाडपर्वको समयमा यात्रुको सहजताका लागि जिल्लाको सिमार, गोकुलेश्वर, खोचलेक, सतबाँझ, गोठलापानी, सीमानाका झुलाघाट, पाटन, खोड्पे र ढोल्यामोड बजारमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट ५ हजार ९ सय जनाले सेवा लिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

चाडपर्वलाइ लक्षीत गरेर स्थापना भएका यात्रु सहायता कक्षबाट गाडीभाडामा ठगिएका, गाडी नपाएर अलपत्र परेका, मास्क नभएका लगायतका समस्यामा परेका नागरिकहरुलाइ सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । चाडपर्वका बेला मात्रै नभइ हरेकबेला समस्यामा परेका नागरिकहरुलाइ प्रहरीले सेवा दिइराखेको र सधै सेवा जारी रहने उहाँले बताउनुभयो ।

बढीआवागमन हुने चाडपर्वका बेला यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने हेतुले प्रत्येक वर्ष प्रहरीले याुत्र सहायता कक्ष स्थापना गरेर सेवा दिदैआएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा स्थापना भएका सहयातका कक्षबाट नागरिकहरुले सेवा लिएका हुन् । सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर गरेर सीमानाका सहित जिल्लाका ९ स्थानमा गत असोज २० गतेबाट यात्रु सहायता कक्ष सञ्चालनमा आएका थिए ।

Leave A Reply

Your email address will not be published.