बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार ३ गाउँपालिका ८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो। विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
कालागाउँबाट सिल्लेगडातर्फ आउदै गरेको से १ ज ६०३ नम्बरको जिप शनिबार बिहान साढे १० बजे दोगडाकेदार ३ घोडेधारनजिकै दुर्घटनामा परेको हो। कच्ची र उकालो सडकमा जिप नचड्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जिपमा सवार लोकबहादुर विष्टले बताउनुभयो। जिप उकालोमा नचड्दा पछाडी टायरमा ढुंगा हाल्न निस्केका अम्मरको जिपले किचेर मृत्युु भएको हो।
यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट,सोहि ठाउँका ४५ वर्षीया हिरा बिष्ट , ४ वर्षीय रियाग विष्ट,७ वर्षाीया सुसिला विष्ट, ६० वर्षीय पदम विष्ट ६० घाइते भएका छन्। घाइते मध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो। गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
जिप दुर्घटनापछि चालक सुरेन्द्र विष्ट फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।