बैतडी। सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशी बैतडी आउनुभएको छ। यहाँका विभिन्न धार्मिक कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रदेश प्रमुख जोशी सोमबार बैतडी आउनुभएको नेपाली कांग्रेसका नेता धनबहादुर क्षेत्रीले बताउनुभयो।
बैतडी पुगेका प्रदेश प्रमुख जोशीले मंगलबार प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पूजाआजाका साथै दर्शन गर्ने कार्यक्रम रहेको छ। त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी दार्चुला समेत पुग्ने कार्यक्रम रहेको छ।
मंगलबार र बुधबार त्रिपुरासुन्दरी भगवतीको जात्रामा सहभागी भएर प्रदेश प्रमुख जोशी बैतडीको पाटन र मेलौली जाने कार्यक्रम समेत रहेको छ। बैतडीपछि दार्चुलाको मालिकार्जुन धामको दर्शन गर्ने र दार्चुलाको मालिकार्जुन गाउँपालिका ७ जोलजिवी क्षेत्रमा सञ्चालनमा रहेको मेलामा प्रदेश प्रमुख जोशी सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।
प्रदेश प्रमुख जोशीसंगै प्रदेशसभा सदस्य बहादुरसिंह थापा र दिवानसिंह बिष्ट पनि बैतडी पुग्नुभएको छ।