खोप नलगाएका व्यक्तिलाई भारत प्रवेशमा रोक

मंसिर १९, आइतबार २०७८

बैतडी – कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ ।

भारतले आफ्नो देश प्रवेश गर्ने नागरिकलाई अनिवार्य रुपमा कोरोनाको दुबै डोज खोप लगाएको कार्ड हेरिरहेको हो। बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए।

‘भारतको पिथौरागढ जिल्लाले लिखित रुपमा पत्र पठाएर दुईवटै डोज खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ।’ देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमा नाकामा कडाई गरेको बताइएको छ। उनले भने, ‘कोरोनाको दुबै डोज खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ।’

भारत जाने नेपाली नागरिकले अनिवार्य रुपमा १५ दिन अगाडी खोपको दुबै डोज लगाएको प्रमाण बोकेर जान जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ। खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ।

यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्य रुपमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने सूचना अधिकारी भारतीले बताए। झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भएपनि ७ दिनसम्म त्यसको लक्षण देखा पर्न सक्ने भएकोले स्वदेश फर्किने नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गरिएको हो।
भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिएसँगै बैतडीमा पनि त्यसको जोखिम बढेको छ। सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ।

बैतडीमा हाल २ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ।
विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.