अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस : नेपालमा महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाइँदै


मंसिर १९, आइतबार २०७८

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

नेपालमा भने १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि पनि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । पारम्परिक चलन अनुसार अहिले पनि बाढी–पहिरो, भूकम्प, रोगको महामारी, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपत्तिमा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।

हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । अहिले विश्वभर एक करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान छ । यसमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाउने गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै मानिन्छ । नेपालमा बालबालिका तथा मातृ मृत्यदर घट्नुमा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।

अहिले ५१ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविका छन् । कोरोना महामारीका बेला पनि घर घरमा पुगेर उनीहरुले सेवा प्रदान गर्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको परामर्शबाट कोरोनाविरुद्धको खोप लगाउने दरमा वृद्धि भएको स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक डा। गोमादेवी निरौलाले बताउनुभयो ।उज्यालो अनलाईनबाट

Comments are closed, but trackbacks and pingbacks are open.