२४ घण्टामै २ लाख ८३ हजार जनाले कोरोनाविरुद्धको खोप लगाए, २ सय ८० सङ्क्रमित थपिए


मंसिर २२, बुधबार २०७८

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा दुई लाख ८३ हजार जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सरकारले यही हप्ता दैनिक दुई लाख जनालाई खोप लगाउने योजना सार्वजनिक गरेको थियो । २४ घण्टामा दई लाख ८३ हजार एक सय ३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ । बालबालिकाका लागि पनि फाइजर र मोर्डना कम्पनीको खोप आयात अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख ५६ हजार पाँच सय ३० मात्रा खोप आइसकेको छ । तीन करोड ५० लाख खोप आउने क्रममा छ ।

यसैबीच पछिल्लो २४ घण्टामा दुई सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव २९ प्रतिशत अर्थात् दुई सय ८० जनामा सङ्क्रमण देखिएको हो ।

यस्तै थप तीन सय ६६ जनासहित सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख पाँच हजार पाँच सय ७१ पुगेको छ । अहिले नेपालमा ६ हजार दुई सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा दुई जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ४५ पुगेको छ । उज्यालो

Leave A Reply

Your email address will not be published.