बैतडी,२५ मङ्सिर
-प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अन्र्तगत बैतडीले उत्कृष्ट शुरुवात गरेको छ । आज सम्पन्न खेलमा बैतडीले डोटीमाथि १ सय ७९ रनको जित निकाल्दै प्रतियोगिताका उत्कृष्ट शुरुवात गरेको हो ।
बैतडीले दिएको २ सय ५ रनको बिशाल लक्ष्य पन्छाएको डोटीको टोली १२।१ ओभरमा २५ रनमा अलआउट भयो । उसका लागि कुनै पनि ब्याट्सओमनले दोहोरो अंकको रन बनाउन सकेनन् । अनिषा शाहले सर्वाधिक ९ रन बनाईन् ।
डोटी पारी ध्वस्त पार्ने क्रममा बैतडीकी कप्तान रितु कनौजियाले ४, पूजा कार्कीले ३ विकेट हात पारेका स्कोरर नुरैन अन्सारीले जानकारी दिए ।
त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको बैतडीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ४ रन जोड्यो । बिशाल लक्ष्य प्रस्तुत गर्ने क्रममा बैतडीका संगिता मौनी र भावना जोशीले अर्धसतकीय पारी खेले । संगिताले ५६ रन जोडिन् भने भावना ६१ रनमा नछआउट रहिन् । डोटीकी रजनी केसी र करिश्मा खड्काले एक÷एक विकेट हात पारिन् । आजदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका टोली सहभागी रहेका छन् ।
प्रदेशस्तरिय छनौट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले बताए । गत वर्षको छनौट प्रतियोगितामा कैलालीलाई हराउदै बैतडी च्याम्पिएन भएको थियो । यस वर्ष पनि उपाधि हात पार्ने लक्ष्य रहेको बैतडी टिमका व्यवस्थापक उत्तम चन्द दिनेशले बताए ।
नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी पुस ३ गतेदेखि धनगढीमा हुदैंछ ।
विनोद सिंह विष्ट–––