बैतडीमा दुई हजार आठ सय मतदाता थपिए

मंसिर २८, मंगलबार ,२०७८

बैतडी -स्थानीय तहका केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रमअन्तर्गत बैतडीमा थप दुई हजार आठ सय मतदाता थपिएका छन्।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्सिर १७ देखि मङ्सिर २६ गतेसम्म सञ्चालन भएकोमा २ हजार ८ सय ३० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए।

पहिलो चरणमा सञ्चालन भएको पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकामा १ हजार २ सय ३८ जनाले नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन्।

यस्तै मेलौली नगरपालिकामा ५१४, डिलाशैनी गाउँपालिकामा २५६, सिगास गाउँपालिकामा २८८ र पञ्चेश्वर गाउँपालिकामा ११६ जना नयाँ मतदाता थपिएका हुन्।

यसका साथै दशरथचन्द नगरपालिकाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा २१८ जनाले आफ्नो नाम दर्ता गराएका छन्।

आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर सुरु भएको उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गर्ने कार्यतालिका अनुसार दोस्रो चरणमा आजदेखि दोगडाकेदार, सुर्नया, शिवनाथ गाउँपालिका र पाटन नगरपालिकामा सञ्चालन भएको छ।

प्रत्येक पालिकामा १० दिन ९पुस ८ गते० सम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने जनाइएको छ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको हकमा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नियमित रूपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ। सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइएका हुन्।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन्।

फोटोसहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने छ।

बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ।

विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.