विद्यालय भवन पुनःनिर्माण नहुँदा खुला ठाउँमै पठनपाठन

पुस ६, मंगलबार २०७८
-बैतडीको पञ्चेश्वर गाउँपालिका–१ सेरीस्थित गढदेव आधारभूत विद्यालयको भवन पुनःनिर्माण नहुँदा खुला चौरमा पठनपाठन भइरहेको छ। गत असोज पहिलो साता परेको अबिरल वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएको हो।

विद्यालय भवन भत्किएपछि गत ३ महिनादेखि खुला चौरमा पठनपाठन गर्न बाध्य भएको विद्यालयकी प्रधानाध्यापिका निर्मला चन्दले बताइन्। विद्यालयको ७ कोठे भवन पहिरोले भत्काएपछि निकै समस्या भएको र विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन्।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा अहिले ७८ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालय भत्केको ठाउँमा चौर समेत नभएकाले झण्डै १ किलोमिटर टाढाको खोला किनारको चौरमा पठनपाठन भइरहेको छ।

बालबालिकालाई खुला चौरमा राखेर पढाउनुपर्दा पठनपाठन प्रभावित हुने गरेको छ। प्रधानाध्यापिका चन्दले भनिन्, ‘विद्यार्थीलाई पढाउनका लागि ह्वाइट बोर्ड राख्ने ठाउँ छैन, पानी परेका वेला ओत लाग्ने ठाउँ छैन। विद्यालयमा भएका सबै फर्निचर, कुर्सी लगायतका सामग्री पनि पहिरोले नष्ट भएका छन्।’

पहिरोले विद्यालय भवन भत्काएको विषयमा गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइमा पत्राचार गरेर विवरण बुझाए पनि तीन महिनासम्म पनि पहल नभएको चन्दको गुनासो छ।

पञ्चेश्वर गाउँपालिका र शिक्षा विकास तथा समन्वय एकाइले भने विद्यालय पुनःनिर्माणका लागि पहल भइरहेको जनाएको छ। गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले विद्यालय पुनःनिर्माणका लागि पहल भइरहेको र छिटै विद्यालय भवन निर्माण थालिने बताइन्।

उनले भनिन्, ‘विद्यालय भवन भत्किदा समस्या भएकोबारे हामीलाई जानकारी आएको छ, गाउँपालिकासँग पर्याप्त बजेट नभएकाले प्रदेश र संघ सरकारसँग माग गरेका छौं।’

यस्तै शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्कर शर्माले पनि क्षतिको विवरणबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताए।
विनोद सिंह विष्ट ………..

Leave A Reply

Your email address will not be published.