पुस १०, शनिबार २०७८,बैतडी-
जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली संकलन गर्न सक्ने व्यवस्था गरेको छ । अगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन कार्य थालिएको हो ।
निर्वाचन आयोगले इलाका प्रशासन कार्यालयबाट पनि नामावली संकलन कार्य गर्न दिएको निर्देशन अनुसार नै नामावली संकलन कार्य सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रम्ुख माधव फुयाँलले जानकारी दिए । यसै हप्ताबाट सुरु भएको नामावली संकलन कार्य पुस १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । इलाका प्रशासनबाट नेपाली नागरिकता प्रमाणपत्र जारी हुने भएकोले नागरिकता पाउनेवितिक्कै नामावलीमा नाम दर्ता गराउनको लागि उक्त व्यवस्था गरिएको हो । हालसम्म ९८ जनाले आफ्नो नाम दर्ता गराइसकेका त्यहाँ खटिएका दर्ता कर्मचारी दीपेन्द्र धामीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट भने नियमित रुपमा नामावली संकलन कार्य जारी रहेको छ । यी दुई स्थानमा भने आयोगको अर्को आदेश नआउँदासम्म सञ्चालन हुनेछ ।
आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ । नामावलीमा नाम दर्ता गराउन आउँदा नेपाली नागरिकता प्रमाणपत्र अनिवार्य गरिएको छ ।
बैतडीमा हालसम्म १ लाख ४८ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
विनोद सिंह विष्ट –––