पार्टीलाई अझै सुदृढ बनाएर लैजाने संकल्पसहित कांग्रेसको पहिलो बैठक सम्पन्न


पुस १०, शनिबार २०७८
काठमाण्डौ – पार्टीलाई अझै सुदृढ बनाएर लैजाने संकल्पसहित चार वटा निर्णय गर्दै नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो । बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्ने आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिने निर्णय समेत गरेको छ ।

त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसका उम्मेदवारहरुको लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनु भयो । दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टीको तर्फबाट मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरिएको छ ।

‘आफ्नो पार्टीका संस्थापक नेता र सबै सहीदहरुलाई स्मरण गर्दै १४ औं महाधिवेशनको जुन नारा थियो–उत्साह, एकता र रुपान्तरण । त्यो नाराको मर्म अनुरुप इतिहासले सुम्पेको दायित्वलाई आत्मासात गर्दै अझै सुदृढ एकता बनाएर पार्टीको अगाडिको यात्रालाई अगाडि बढाउने संकल्प यो बैठकले गरेको छ, बैठकले ४ वटा निर्णय गरेको छु महामन्त्री थापाले भन्नुभयो, ुबैठकले यो महाधिवेशनमा विभिन्न ठाउँबाट आएर कांग्रेसलाई सुभेच्छा प्रकट गर्ने विभिन्न राजनीतिक दलका नेताहरुदेखि लिएर यो महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टीको विभिन्न तहमा रहेर काम गर्ने निर्वाचन समिति, सञ्चार माध्याम सबैलाई धन्यवाद प्रकट गर्ने निर्णय यो बैठकले गरेको छ । त्यसैगरी राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनका लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय पनि गरिएको छ । त्यसैगरी निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि दलको तर्फबाट मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ ।’

गएको मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित एक सय ३४ जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुले आजै निर्वाचित भएको प्रमाण पत्र पनि ग्रहण गरेका छन् ।
उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.