माघ २७, बिहिबार, २०७८
बैतडी -संक्रमणको जोखिमका कारण बन्द रहेका बैतडीका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आउने भएका छन्।
सरकारले कोरोनाको तेस्रो तहर तथा ओमिक्रोन संक्रमण तीव्र रूपमा फैलिएको भन्दै गत पुस अन्तिम साताबाट माघ मसान्तसम्म विद्यालय बन्द राख्न निर्देशन दिएको थियो।
कोरोना संक्रमणदर घट्दै गएको र जोखिम पनि कम हुँदै गएकाले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए।
उनले भने, ‘संक्रमणको जोखिम घट्दै गएको छ। फागुन १ गतेदेखि विद्यालय सञ्चालन हुने र भौतिक रूपमै पठनपाठन हुनेछ।’
विद्यालय सञ्चालन गरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भने अनिवार्य गर्न भनिएको प्रमुख अवस्थीले बताए। उनले भने, ‘मास्क, स्यानिटाइजर, साबुन पानीले हात धुने कुरा अनिवार्य विद्यालयमा लागू गराउनुपर्छ भनेका छौं।’
जिल्लाका १२ देखि १७ वर्षसम्मका बालबालिकाले कोरोनाविरुद्धको पूर्ण खोप पाइसकेकाले विद्यालय सञ्चालन गर्ने तयारी भएको हो।
फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने भनेर यहाँका सबै स्थानीय तहलाई पत्राचार भइसकेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।
उनले भने, ‘बन्द रहेका विद्यालय फागुन १ देखि खोल्ने भनेर दशवटै पालिकालाई पत्र पठाइसकेका छौँ। त्यसैअनुसार यहाँका सबै विद्यालय सञ्चालन हुन्छन्।’
यसैबीच १२ वर्षमुनिका विद्यार्थीको हकमा आलोपालो कक्षा सञ्चालन हुने सूचना अधिकारी भारतीले बताए।
उनले भने, ‘१२ वर्षमाथिका विद्यार्थीले पूर्ण खोप पाइसकेकाले उनीहरूको साविकको जस्तै कक्षा सञ्चालन हुनेछ। १२ वर्षमुनिका विद्यार्थीहरूको हकमा आलोपालो कक्षा सञ्चालन गर्न भनेका छौँ।’
भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न भनिएअनुसार विद्यालय सञ्चालनको तयारी भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले बताए।
उनले भने, ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। विद्यालय पुनः सञ्चालन गरेर नियमित रूपमा कक्षा सञ्चालन गर्छौँ।’
बैतडी जिल्लाभरिमा ५६२ विद्यालय रहेका छन्। तीमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको ।
बैतडीमा डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाबाहेक अन्य आठ पालिकामा हाल कोरोनाका १०३ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमणकै कारण हालसम्म यहाँ १९ जनाको ज्यान गइसकेको छ।
विनोद सिंह विष्ट……….