फागुन २५, बुधबार २०७८
बैतडी -नेपाली कांग्रेस बैतडीले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बिशाल आमसभाको आयोजना गरेको छ। बिहीबार शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको उक्त आमसभालाई नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेयले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
उक्त आमसभामा तल्लोस्वराडका शिवनाथ, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिकाकालगायतका नागरिकको उपस्थिति रहने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर आमसभा आयोजना गरिएको र उक्त आमसभामा कांग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक एवं भातृ संस्थालगायत आम नागरिकको सहभागिता रहने जनाइएको छ।
यस्तै, कांग्रेस बैतडीमा फागुन २९ गतेदेखि ‘घर–घरमा कांग्रेस, जन–जनमा कांग्रेस’अभियान सञ्चालन गर्ने भएको छ। सदरमुकामस्थित गोठलापानीमा उक्त अभियानको शुभारम्भ गरिने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।
उनले भने, आगामी चुनावलाई लक्षित गर्दै अभियान सञ्चालन गर्ने तयारी भएको हो। जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घर घरमा पुग्ने र कांग्रेस जिताउ अभियान राखेका हौं।
एक महिना सम्म अभियान सञ्चालन हुने उक्त अभियानमा संगठन विस्तार र सुदृढीकरण गरिने जनाइएको छ। नेपाली कांग्रेस सिद्धान्त, निती र विचारलाई आम मानिसमा पुर्याउनका लागि अभियान सञ्चालनको तयारी भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिने जोशीको भनाइ छ ।
विनोृद सिंह विष्ट………