मेयर कप : खलंगा च्याम्पियन, दशरथचन्द ५ विकेटले पराजित

चैत २, बुधबार २०७८
बैतडी -बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका(४ खलंगाले हात पारेको छ। फाइनलमा दशरथचन्द नगरपालिका-५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो।

खलंगा गत संस्करणको पनि च्याम्पियन टोली हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि हात पारेको थियो। उपाधिसँगै खलंगाले ७५ हजार नगद पुरस्कार पायो भने उपविजेता दशरथचन्दले ५० हजारमा चित्त बुझायो।

आज भएको फाइनल खेलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १० दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। जसमा हरिस कार्कीले अविजित ५२ रनको पारी खेले। दशरथचन्दका सुमन रावलले ३ विकेट लिए।

त्यसअघि निंग्लाशैनी खेल मैदान देहिमाडौैंमा पहिला ब्याटिङ गरेको दशरथचन्द १६ दशमलव १ ओभरमा ८७ रनमा समेटियो। आकाश रावलले १७, सुमन रावलले १४ र जगदीश चन्दले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नसक्दा दशरथचन्दको उपाधि जित्ने सपना चकनाचुर भयो।

दशरथचन्दको पारी ध्वस्त पार्ने क्रममा खलंगाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३र३ विकेट झारे। म्यान अफ द फाइनल खलंगाका हरिश कार्की भए।

यसैबीच सर्वोत्कृष्ट खेलाडी र बेस्ट ब्यास्टसम्यान खलंगाका प्रदीप चन्द चुनिए। उनले प्रतियोगिताभर व्यक्तिगत १ सय ९३ रन र ७ विकेट हात पारेका थिए।प्रतियोगिताभर १० विकेट हात पारेका ग्वाल्लेकका दीपक जोशी बेस्ट बलर भए।

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए। नगरपालिकाले वार्षिक कार्यक्रममै राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट गर्दै आएको छ।
विनोद सिंह विष्ट………

Leave A Reply

Your email address will not be published.