२०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु हुने

चैत ३, २०७८ बिहिबार
काठमाडौं -सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठबाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको मन्त्रिस्तरीय बैठकले परीक्षालगायतका काम वैशाख महिनाभित्र सकेर जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण विद्यालय बन्द गर्दा पढाइ प्रभावित भएकोले चैत महिनाभर पठनपाठन गर्ने र वैशाख महिनामा वार्षिक परीक्षा सकेर जेठदेखि पढाइ सुरु गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।जस अनुसार अब विद्यालयहरूले आगामी चैत मसान्तसम्म पठनपाठन गरी वैशाखमा परीक्षा र नतिजा प्रकाशन गर्नुपर्नेछ ।

स्थानीय तह चुनावका कारण विद्यालयहरू बन्द गर्नेपर्ने तथा कतिपय शिक्षकहरू चुनावमा खटिनुपर्ने भएकाले चुनावमा खटिने समयअघि नै नयाँ शैक्षिक सत्रअघि सम्पन्न गर्नुपर्ने सबै तयारी पूरा गर्ने पनि शिक्षा मन्त्रालयले जनाएको छ ।

यसैबीच शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जेठ १ गतेदेखि कक्षा सञ्चालन गर्नका लागि नयाँ भर्ना अभियान वैशाखमै थाल्न आग्रह गरेको छ । कतिपय विद्यालयले चैतमै विद्यालयको अन्तिम परीक्षा सञ्चालन गर्ने गरी सूचना निकालेपछि केन्द्रले विद्यालयहरूलाई चैत्र महिनाभर शिक्षण सिकाइ क्रियाकलाप गर्न आग्रह गरेको हो ।चैतमा परीक्षा सञ्चालन गर्दा बालबालिकाको पढाइ प्रभावित हुने भएकाले विद्यालय तहका परीक्षाका कार्यतालिकाहरु नराख्न र अन्य प्रतियोगितात्मक कार्यहरूको पनि वैशाखमा मात्र आयोजना गर्न केन्द्रले आग्रह गरेको हो ।

Leave A Reply

Your email address will not be published.