महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक
बैशाख ५, सोमबार २०७९
काठमाण्डौ-महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् ।
नेपाली कांग्रेसले काठमाण्डौ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ । यस्तै माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ ।
११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ । माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौँडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ ।
एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी तथा जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । गठबन्धनमा भएका पाँच दलमध्ये छ वटै महानगरपालिकामा कांग्रेसको मतभार धेरै छ । त्यहीकारण कांग्रेसका स्थानीय कार्यसमितिले अल्पमतको नेतृत्व स्वीकार्न नसकिने अडान लिएका छन्।
गठबन्धनमा रहेका दलका आआफ्नै दाबी र अडानले उम्मेदवार टुङ्ग्याउन सकस भएको छ।