बैशाख १०, शनिबार २०७९
काठमाण्डौ- पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा आज उम्मेदवारको टुङ्गो लाग्दैछ ।
महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ ।
भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका तथा हेटौँडा र जनकपुर उपमहानगरपालिकामा मेयरको उम्मेदवारी छाडेको भन्दै कांग्रेसका स्थानीय नेता कार्यकर्ता विरोधमा उत्रिएका छन् । उनीहरुले बागी उठ्नेदेखि पार्टी छाड्नेसम्मको चेतावनी दिएका छन् ।
एमालेबाट भरतपुर, ललितपुर र वीरगञ्जबाट सर्वसम्मत उम्मेदवार सिफारिस भए पनि अरु ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् । एमालेले आज उम्मेदवारको टुङ्गो लगाउने जनाएको छ । नेपाली कांग्रेसले आफ्नो भागमा परेको महानगर र उपमहानगरका उम्मेदवारबारे छलफल गर्न आज पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो । कांग्रेसले असन्तुष्ट स्थानीय नेता, कार्यकर्तालाई मनाउने प्रयास भइरहेको जनाएको छ । उम्मेदवार टुङ्गो लगाउन सत्ता गठबन्धनका अरु दलहरु पनि आन्तरिक छलफलमा छन् ।