आङ सान सुकी भ्रष्टाचारको मुद्दामा पनि दोषी ठहर, जेल सजाय अवधि ११ वर्ष पुग्यो


बैशाख १४, बुधबार २०७९

-म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।

सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित दोषी ठहर गरेर सुनाएको जेल सजायको अवधि ११ वर्ष पुगेको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीलाई मतदाता ठगीलगायत आपराधिक अपराधको अभियोग लगाइएको छ । सुकीले सबै आरोपहरू अस्वीकार गर्नुभएको छ । गएको डिसेम्बरमा उहाँलाई कोभिडसम्बन्धी स्वास्थ्यका नियम तोडेको र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।

सुकीविरुद्ध अझै १० वटा मुद्दाको सुनुवाइ भइरहेको छ । ती सबै मुद्दामा अधिकतम १५ वर्षको सजायको माग गर्नुको साथै चुनावी धाँधली र आधिकारिक गोप्य ऐन उल्लङ्घनको समेत आरोप रहेको छ ।

Leave A Reply

Your email address will not be published.