आचारसंहिता पालना गर्न सञ्चारमाध्यमलाई आयोगको आग्रह, पाँच पत्रकार सङ्गठनका अध्यक्षलाई स्पष्टीकरण


बैशाख २६, सोमबार २०७९

काठमाण्डौ – कतिपय सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारका पक्ष वा विपक्षमा सामग्री प्रकाशन र प्रसारण गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको छ ।

चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय तुल्याउन समाजका सबै पक्षको योगदान हुन आवश्यक रहेकाले यो वा त्यो पक्षको जित वा हार निश्चित भन्ने आशयले पूर्वानुमानयुक्त सामग्री प्रकाशन र प्रसारण नगर्न आयोगले आग्रह गरेको हो ।

आचारसंहिता विपरीत सामग्री प्रकाशन र प्रसारण गर्ने केही सञ्चारमाध्यमविरुद्ध परेको उजुरी र जानकारीका आधारमा स्पष्टीकरण माग गरिएको र आचारसंहिताको पालनाबारे प्रेस काउन्सिल नेपालको सहयोगमा नियमित अगुगमन भइरहेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि सामग्री प्रकाशन र प्रसारण नगर्न आयोग सबै सञ्चारमाध्यम र पत्रकारलाई आयोगले आग्रह पनि गरेको छ । आचारसंहिता विपरीत सामग्री दिने कुनै पनि सञ्चारमाध्यमबारे जुनसुकै माध्यमबाट आयोगमा उजुरी दिन सकिने पनि आयोगले जनाएको छ ।

यसैबीच आयोगले आचारसंहिता विपरीत मतदातालाई अपिल गरी विज्ञप्ति सार्वजनिक गर्ने विभिन्न पाँच पत्रकार सङ्गठनलाई चौबीस घन्टाभित्र स्पष्टीकरण पेस गर्न जवाफ माग गरेको छ ।

आयोगले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार सङ्घ नेपालका सचिव श्यामलाल पोखरेललाई स्पष्टीकरण सोधेको हो ।

मतदातालाई कुनै अमुक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न भनी विज्ञप्ति जारी गर्ने कार्य पत्रकार वा पत्रकारको सङ्घरसङ्गठनको पेसागत मर्यादाभित्र पर्छ, पर्दैन भन्दै आयोगले पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र विज्ञप्ति हटाएर लिखित जवाफ पेस गर्न आग्रह गरेको हो ।

सत्तारुढ पाँच दल नजिकका पत्रकार सङ्गठनले गठबन्धन पक्षधरलाई भोट दिन आग्रह गर्दै विज्ञप्ति निकालेपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.