बैशाख २६, सोमबार २०७९
काठमाडौँ- कैलालीको धनगढीमा आज सत्ता गठबन्धनको चुनावी सभा हुँदैछ । चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बधोन गर्ने तय भएको छ ।
यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसक्नुभएको छ । आजै देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सभा हुँदै छ ।
धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उहाँ डडेल्धुरा जाने कार्यक्रम रहेको छ । देउवाको गृह प्रदेश रहेको यस क्षेत्रमा पार्टीको महाधिवेशनपश्चात पार्टीभित्र आन्तरिक किचलो बढेको छ । पार्टीको आन्तरिक द्वन्द्वकै कारण कांग्रेसको बलियो क्षेत्र मानिएको प्रदेशमा अहिले कमजोर देखिन थालेको आकलन गरिएको छ ।