पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ


जेठ ११, बुधबार २०७९

काठमाण्डौ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

आज बुधवार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । उनीहरूले निगमको मूल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्तिक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन सङ्कट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यावहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै विद्यार्थी सङ्गठनका नेताहरूले जनताको कर एसी गाडीमा झण्डा हालेर हिँड्नका लागि नभएको भन्दै जनतामाथि परिरहेको सङ्कटको बेलामा सरकराले अविभावकत्व लिनुपर्ने बताए । पार्टीमा लाग्यो भन्दैमा जनता सेक्ने काम गर्ने सरकार र नेताहरूको शासन प्रणालीलाई लालसलाम, जिन्दावाद र जय नेपाल भन्न नसकिने उनीहरूले जिकिर गरे ।

सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आउँदा दिन विरोधका कार्यक्रमहरू थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिए । निगमका कर्मचारी, सरकारी कर्मचारी र मन्त्री तथा सांसदहरूलाई सेवा, सुविधा थप गर्न सरकार लागिपरेको भन्दै उनीहरूले आयल निगम घाटामा नभएको र सरकारले मनलाग्दी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए । उनीहरूले आयल निगमले ३३ अर्ब घाटा भनेको तर ५५ अर्ब रुपैयाँ नाफा भएको कुरा जनतालाई नभनेको आरोप पनि लगाए ।

प्रदर्शनकारीहरूले ुगठबन्धनको उपहार – महँगी र भ्रष्टाचारु, ुअनियमितता र भ्रष्टाचार – देउवा सरकारको उपहारु जस्ता नारा लगाएर विरोध गरेका थिए ।

सरकारले गएको आइतवार रातिदेखि लागू हुने गरेर प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेल १ सय ६३, आन्तरिक हवाईमा १ सय ६६, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सयले बढाएर १८ सय रुपैयाँ पुर्‍याएको छ । उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.