जेठ १५,आइतबार २०७९
काठमाण्डौ – पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान खोजी कार्य आजका लागि स्थगित गरिएको छ ।
आज आइतवार दिनभर खोजी गरे पनि विमानको अवस्थाबारे थाहा हुन सकेको छैन । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका सबै काम रोकिएको र भोलि सोमवार फेरि बिहानैदेखि हवाई र जमिनबाट खोजी कार्य गरिने सेनाले जनाएको छ । त्यसका लागि हेलिकप्टरसहितको खोज तथा उद्धारको टोली तयारी अवस्थामा रहेको पनि सेनाले जनाएको छ ।
यस्तै तारा एअरले पनि विज्ञप्ति निकालेर आजका लागि खोजी कार्य स्थगित भएको जनाएको छ । यसअघि मानापाथी हिमाल नजिकै विमानको भग्नावशेष भेटिएको शङ्का गरे पनि पुष्टि भने भएको छैन ।
आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको हो । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ ।