जेठ २१, शनिबार २०७९
काठमाण्डौ -यूईएफए नेसन्स लिगमा सन् २०१८ को विश्व कप विजेता फ्रान्स र उपविजेता क्रोएसिया पराजित भएका छन् ।
समूह एकमा रहेको फ्रान्स घरेलु मैदान पेरिसमा डेनमार्कसँग २–१ गोलले पराजित भएको हो । डेनमार्कका एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे । फ्रान्सका करिम बेन्जेमाले सान्त्वना गोल गरे ।
खेलको ५१ औँ मिनेटमा बेन्जेमाले गोल गरे पनि फ्रान्सले अग्रता जोगाउन सकेन । कोर्निलिअसले खेलको ६८ औँ र ८८ औँ मिनेटमा गोल गरे ।
त्यस्तै अर्को खेलमा विश्व कपको उपविजेता क्रोएसिया घरेलु मैदानमा अष्ट्रियासँग ३–० ले पराजित भयो । अष्ट्रियाका मार्को एर्नाउटोभिक, माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान एकरएक गोल गरे ।
यो समूहमा अष्ट्रिया र डेनमार्कले समान ३ अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा अष्ट्रिया शीर्ष स्थानमा छ । फ्रान्स र क्रोएसिया अङ्कविहीन छन् ।