सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश बनाउन जुट्नुस् :प्रधानमन्त्री देउवा


जेठ २१, शनिबार २०७९

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेद अन्त्य गर्दै समृद्ध देश निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ–संस्थाद्वारा आज शनिवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक न्यायमा आधारित सभ्य समाज निर्माणको निम्ति दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत अन्त्यको व्यावहारिक रूपमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जातीय भेदभाव तथा छुवाछुत भनेको घृणित, सामाजिक रूपमा अनैतिक, अमानवीय, कानुनी रूपमा गम्भीर अपराधपूर्ण कार्य हो, यसको अन्त्यसँगै सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो ।’ नेपाली कांग्रेसका सभापति देउवाले सबै प्रकारका विभेदको आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्दै कानुनको प्रभावकारी कार्यान्वयन गरी समृद्ध समाज र देश निर्माणको निम्ति राष्ट्रिय अभियानमा सहभागी हुन अपिल गर्नुभयो ।

विसं २०५८ मा छुवाछूत अन्त्य गर्ने प्रतिबद्धतासहित राष्ट्रिय दलित आयोगको स्थापना, २०६३ सालमा छुवाछूत मुक्त देश घोषणा र दलित समुदायको संवैधानिक हकको सुनिश्चितताको स्मरण गर्दै उहाँले दलित समुदायको आन्दोलनले नीति निर्माणमा सरकारलाई बल पुगेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सरकारले छुवाछुतविरुद्ध ऐनरकानुन निर्माण गरी सभ्य समाज निर्माण गर्दै आएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा लागेका दलित समुदायलाई नथाक्न आग्रह गर्नुभयो । जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यान जानेसम्मका घटना हुनु दुःखद भएको बताउँदै उहाँले त्यस्तो परिस्थितिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आजै दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्तसमेत गरिएको छ । त्यही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ नामक चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दलित महिला केन्द्रले यस वर्षको ‘ईभा कसेल सामाजिक न्याय पुरस्कार’ संविधान सभाका सदस्य शम्भु हजारा पासवानलाई प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
रासस…..

Leave A Reply

Your email address will not be published.