गरिबको चमेली बोल्दिने कोही छैन्

मेलौली न्यूज
असार १८ शनिबार,२०७९

रवीन्द्र घिमिरे
चुनावी अभियानका क्रममा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र बालेन साहले ‘बलिदान’ शीर्षकको र्‍याप सबैभन्दा धेरै प्रयोग गरे, जसमा चर्चित गीत ‘गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन‘’ कोरसका रुपमा थियो ।

यो राज्यको राजाहरुमा राजयोग नै छैन, यो रामराज्य हैन भन्दै राजनीतिक नेतृत्वमाथि व्यंग्य गरेको गीतका कारण पनि बालेनले धेरैको मन जिते । नेकपा एमाले र नेपाली कांग्रेस जस्ता ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन मेयर पनि चुनिए ।

तर बालेन मेयर भएको महानगरको नगर प्रहरीले शुक्रबार महाराजगञ्ज क्षेत्रमा ठेलामा मकै बेच्दै गरेकी महिलामाथि गरेको ज्यादतीले बोलन माथि नै प्रश्न उठाएको छ ।

समाजिक सञ्जालमा भाइरल भएको भिडियोमा सडक किनारमा मकै बेचिरहेकी महिलामाथि नगर प्रहरी जाइलागेको देखिन्छ । ‘फुटपाथ र सडक अतिक्रमण गरेर व्यापार गर्न नपाइने’ महानगरको नियमको पालना गराउन भन्दै नगर प्रहरीले बेचिरहेको हरियो मकैसहित ठेला उठाएर गाडीमा हाल्न खोज्छन् । उनी नगरप्रहरीको अघि हात जोड्छिन्, विन्ती गर्छन्, नलगिदिन हार गुहार गर्छन् । तर, लछारपछार गर्दै नगर प्रहरीले ठेला गाडीमा हाल्छन्, आधा मकै सडकमा असरल्ल खस्छन् ।

अर्क एक पुरुष गाडा र मकै छुटाउन गाडीको पछाडी पछाडी दौडिन्छन् । तर नगर प्रहरी एउटै ठूलो अपराधीलाई समातेको झै‌ँ गरेर ठेला गाडीमा हालेर जान्छन् ।

काठमाडौंको सडक पेटीमा नगर प्रहरी निमुखा नागरिकमाथि जाइलागेको यो पहिलो पटक होइन । महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा स्वयम् यस्ता घटना दिनहुँ हुने बताउँछन् । ‘यस्तो घटना त दैनिक हुन्छन् । हामीले पटक(पटक ठेलागाडा नराख्न भनेका छौं । फुटपाथ र सडकमा नराख्नू भनेको ठाउँमा ठेला राखेपछि जफत हुने कुरा सामान्य हो,’ सापकोटाले भने ।

यसरी निमुखामाथि जाइलाग्ने काम मेयर बालेनको निर्देशनमा भएको पनि होइन होला । तर यस्तो गल्ती नगर्ने बाचा गरेर जनमत बटुलेर बालेन मेयर भएको महानगरको नगर प्रहरीको व्यवहार नसुध्रिएका कारण उनीमाथि धेरैले प्रश्न उठाएका छन् ।

समाजशास्त्री दीपेश घिमिरे भन्छन्, ‘यस्तो भइरहेको छ भन्ने महानगरको नेतृत्वलाई थाहा नहुन सक्छ । तर नेतृत्वले तलका कर्मचारीले गर्ने कामको जस अपसज बोक्नुपर्छ, जवाफदेही हुनुपर्छ ।’

उनी यो घटना मात्र होइन, सडकमा पोलेको मकै र चटपटे पनि बेच्न नपाइने भनेर निकालिएको सूचनामै प्रश्न गर्छन् । ‘युरोप र अमेरिकामै पनि सडकमा गुजाराका लागि क्युरियो, उपभोग्य सामान, चकलेटलागयत खाद्यवस्तुहरु बेच्न रोकिंदैन,’ उनी भन्छन्, ‘हामी कहाँ पनि यस्ता व्यापारलाई निषेध गर्ने होइन, व्यवस्थित गर्ने हो । बन्द गर्ने होइन, गुणस्तरीय कुरा बेच्न लगाउने हो ।’

सटर भाडामा लिएर गुजारा गर्न नसक्ने भुईं मान्छेहरुमाथि महानगरको वर्वरतालाई समर्थन गर्नै नसकिने बताउँछन् ।

घिमिरेका अनुसार सडक र फुटपाथमा व्यापार गर्नेहरुलाई उनीहरुको बाध्यताका हिसावले मात्रै व्याख्या गर्न हुँदैन । ‘शहरमा त्यस्ता विपन्न र निम्नमध्यम र मध्यम वर्गका परिवार धेरै छन्, जो फुटपाथ सस्तोमा पाइने मालसमान र खाद्यवस्तु किन्छन्,’ उनी भन्छन्, ‘रेस्टुरेन्टमा गएर मःम खान नसक्नेले ठेलाका बोता र टपरीमा बेचिने र मिठो मःम खान किन नपाउने रु

फुटपाथमा व्यापार गर्नेहरुलाई व्यवस्थित गर्न समय र स्थान तोक्ने जस्ता उपाय अपनाउन सकिने उनको सुझाव छ । उनी भन्छन्, ‘तर आफूले गर्नुपर्ने काम नगरी काम गरि खानेहरुमाथि अत्याचार गरिनु सर्वथा गलत छ ।

शहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा पनि निश्चित ठाउँ र समय तोकेर यस्तो व्यापारलाई व्यवस्थापन गर्नुपर्ने बताउँछन् । ‘हाम्रो जस्तो अल्पविकसित मुलुकमा ठूलो संख्याको दैनिक जीविकासँग जोडिएको यस्तो अनौपचारिक व्यापारलाई एकैपटक निषेध गर्न सम्भव हुन्न,’ उनी भन्छन्, ‘यसलाई व्यवस्थापन गर्न महानगरले निश्चित स्थान र समय तोकेर त्यसमा कडाइ गर्ने नीति लिनुपर्छ ।

ठेलागाडा र फुटपाथमा व्यापार गर्नेहरुमाथि दैनिकजसो नगर प्रहरी लगाएर हस्तक्षेप गरिरहने महानगरले अहिलेसम्म त्यसलाई व्यवस्थित गर्ने योजना ल्याएको छैन ।

‘भोकरहित जनता, शोकरहित महानगर’ नाराका साथ २०७४ मा निर्वाचित भएका मेयर विद्यासुन्दर शाक्यले २०७७ चैतपछिको कोराना कालमा विपन्न तथा गरिखानेलाई स्वयंसेवीहरुले खुलामञ्चमा दिएको निःशुल्क खाना समेत खान दिएका थिएनन् । उनले खाना खाने र खुवाउनेहरुमाथि नै नगर प्रहरी लगाए पछि आलोचना खेप्नु परेको थियो ।

तर, नयाँ नेतृत्व आएपछि महानगर विपन्न वर्गमाथि संवेदशील बन्ने धेरैको अपेक्षा छ ।

भिक्षा माग्न पनि रोक
महानगर फुटपाथ व्यापार गर्नेहरुमाथि मात्रै हैन, सडकमा भिक्षा माग्न पनि रोक लगाएको छ । शुक्रबार महानगरले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने छ ।’

सूचनामा अनुसार महानगरका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी, सरकारी कार्यालय वा कार्यालय परिसर, सार्वजनिक सवारी साधन र अन्य सार्वजनिक स्थानमा भिक्षा माग्न पाइने छैन । बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न लगाउन नपाइने महानगरले बताएको छ ।

समाजशास्त्री घिमिरे भने यो पनि एक किसिमको राज्यले गरेको अपराध भएको टिप्पणी गर्छन् । किनकी नेपालमा भारतबाट माग्न आउनेहरु मात्र छैनन्, नेपालमा पनि फरक क्षमता भएकाहरुले गीत गाएर सडकमा भिक्षा माग्ने गरेका छन् । ‘काम गर्न सक्नेहरुको आर्थिक अवस्था सुधार्न कुनै काम नगर्ने, सडकमा जीवन गुजारेकाहरुलाई संरक्षण दिने र परिवारमा पुनर्स्थापना गर्न पहल पनि नगर्ने, अनि एकाएक यति दिनभित्र सडक छोड्नू भन्न मिल्छ रु’ उनी भन्छन्, ‘विकल्पसहित यस्ता सूचना आउनुपर्छ, सडक नै घर र सडकै सबथोक बनाएर बस्न बाध्य भएकाहरुमाथि यस्तो अपराध हुनु हुँदैन ।’

अनलाईन खबरबाट

Leave A Reply

Your email address will not be published.