बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन


साउन ७, शनिबार २०७९

बैेतडी – बैतडीको मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र फेरी डाक्टर विहिन भएको छ । तल्लोसोराड क्षेत्रका तीनओटा स्थानीय तह पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भएको स्थानीयहरुले बताएका छन ।एक जना मेडिकल अधिकृतको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोसोराडका स्थानीयलाई निकै समस्या भएको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा तल्लोस्वराड बासीले समस्या भोग्दै आएको स्थानीय केशवसिंह भाटले बताए ।केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी भएपनि दरबन्दी पदपूर्ती हुन सकेको छैन ।

नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि विगत एक बर्ष यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए । उनले भने ‘नगरपालिकाले थप तलब राखेर करारमा एकजना चिकित्सक राखेको थियो । तर उनी पनि पढाईका लागि भन्दै गएपछि समस्या भएको छ ।’उहाँले अब छिट्टै डाक्टरको पदपुर्तीका लागी नगरपालिकाबाट पहल भईरहेको चन्दले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा विभिन्न सेवाहरु अवरुद्ध भएका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए ।उनले भने ‘हामीले हाम्रो क्षमताले भ्याएसम्म काम गरिरहेका छौं ।’

प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ।यस्तै निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत जिल््ला नै धाउनुपर्ने अवस्था रही आएको छ ।प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर मात्रै नभएर स्टाफ नर्स समेत छैनन । एकजना स्टाफ नर्सको दरबन्दी भएको केन्द्रमा लामो समयदेखि दरबन्दी रिक्त रहेको जनस्वास्थ्य निरीक्षक दयालले बताए ।

Leave A Reply

Your email address will not be published.