भारतबाट फर्किएर बाख्रा पालनमा


लक्ष्मण विसी, साउन ७, शनिबार २०७९

बैतडी– भारतको गोवाको एक होटलमा दैनिक १२ घण्टा काम गरिरहँदा बैतडीको मेलौली नगरपालिका –२ सलेना (जाल्तडा)का गणेश जाशीलाई आफ्नै गाउँमा केही गर्ने वुद्धि पलायो । रात दिन १२ घण्टा काम गर्ने हो भने‘आफ्नै गाउँमा पैसा कमाउन सकिन्छ’ भन्ने सिकाई भएपछि गणेश जोशी मासिक २० हजारको काम चटक्क छाडेर घर फर्किए । र बाख्रा पालन र मौरी पालन सुरु गरे ।३२ वर्षीय जोशीले भारतमा ३ वर्ष श्रम गरे ।कलिलै उमेरमा विदेशी भूमिमा पसिना बगाएका उनलाई आफ्नै गाउँठाउँमा व्यवसाय सुरुआत गर्न मन लाग्यो ।

भारतको एक होटेलमा रोजगारी गरेका उनलाई घर छोडेर टाढा विदेशी भूमिमा बस्दा मन खिन्न हुन्थ्यो ।उनलाई परिवारसँगै बसेर केही न केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले छाडेन । यसले गर्दा उनी विदेश बसाइँलाई छोट्याएर आफ्नै जन्मभूमिमा फर्किए ।

स्वदेश फर्केपछि केही न केही व्यवसाय थाल््ने मनसायका साथ उनले अग्रजसँग सल्लाह तथा परामर्श लिए र गाउँमै बाख्रा मौरीपालन तथा किवी ड्रगन खेतीसुरु समेत गरे ।उनले आफूसँग भएको रकम र झण्डै रु ६ लाखका लगानीमा ‘ समैजी बाख्रा मौरी तथा फलफुल फार्म’ दर्ता गरे ।

नभन्दै हाल उनको बाख्रा पालनबाट घरैमा अपत्यारिलो कमाई भइरहेको छ । हाल बाख्रा पालनबाट मासिक २०–२५ हजार आम्दानी भइरहेको जोशीले बताए ।परदेशमा अरुको अरनखटनमा काम गर्नुभन्दा आफ्नै स्वविबेकमा श्रम गर्ने योजना अनुसार गाउँ फर्किएका जोशीले दुई वर्ष अघिदेखि बाख्रा पालन र मौरी पालन र किवी खेती सुरु गरेका हुन । उनको खोरमा हाल ३५ भन्दा बढि बाख्रा छन ।उनको दिनचर्य बाख्रालाई घाँस पानी दिन र जंगलमा लगेर चराउनमै बितिरहेको छ ।

बाख्रा पालन र मौरी पालनमा उनको वडाभरी चर्चा हुने गरेको छ ।दुई सन्तानको बाबु उनलाई व्यवसायीक बाख्रा पालनमा उनकै श्रीमतीले साथ दिइरहेकी छन । ‘धन कमाउन विदेश जान पर्छ भन्ने छैन,’ ३२ वर्षीय जोशीले भने, ‘कृषि र पशुपालनमा लगानी गर्ने हो भने गाउँमै आर्थिक आर्जन गर्न सकिने रहेछ ।’

छोटो समयमै बाख्रापालनबाट अगुवा किसानको परिचय बनाएका जोशीले खसी बाख्राको संख्या क्रमशः बढाउँदै लैजाने बताएका छन । जोशीले आफ्नै करिब ५ रोपनीभन्दा बढि जग्गामा किवी र ड्रागन फुड पनि लगाएका छन । तर सुर्नाया नदीको किनार भएको हुनाले गत बर्ष सबै नदिले बगाएर लगेको जोशीले बताए ।

आफ्नै गाउँमा श्रम गर्ने र पसिना बगाउने युवा अत्यान्तै कम छन । गाउँमै उत्पादनमुलक काम गर्नुपर्छ भन्ने सोच भएका युवाको कमी छ ।अधिकांश युवा विदेश जाँदा गाउँमा महिला, बृद्धबृद्धा र बालबालिका मात्र बाँकी छन ।ठाउँ–ठाउँका खेतीयोग्य जमिन बाँझिदै गएका छन ।

यही कारण गाउँमै बाख्रा पालन मौरी पालन र किवी खेतीमा लागेको जोशीले बताए ।विशेष गरी विदेश गएर फर्केका युवा बाख्रापालन व्यवसायतर्फ आकर्षित हुँदै गएको देखिन्छ । बाख्रापालनमा स्थानीयतहको सरकारबाट भने कुनै सहयोग नभएको जोशीले बताउनुभयो । ‘स्थानीय सरकारका जनप्रतिनिधि एक पटक हेर्नसम्म आउनु भएको छैन, जोशीले भन्नुभयो। स्थानीय सरकारले सहयोग गरे आफ्नो गाउँलाई बाख्रापालन केन्द्रको रुपमा विकास गर्न सकिने उहाँले बताए।

चरिचरनका लागि राम्रो मानिने बैतडीको सलेना गाउँ बाख्रा पालनका लागि उपयुक्त स्थान रहेको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका कार्यालय प्रमुख गुमानी दत्त पन्तले बताए ।

Leave A Reply

Your email address will not be published.