वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अंगभंग र बिरामी भएका श्रमिकका छोराछोरीलाई छात्रवृत्ति


साउन ९, सोमबार २०७९

काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका, पूर्ण रुपमा असक्त वा गम्भीर बिरामी भएका श्रमिकका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन दिन अनुरोध गरिएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र करार अवधिभित्रै विदेशमा ज्यान गुमाएका वा पूर्ण रुपमा अशक्त वा गम्भीर बिरामी भएर फर्किएका श्रमिकका बालबालिकालाई शैक्षिक शत्र २०७९ को छात्रवृत्तिका लागि निवेदन दिन वैदेशिक रोजगार बोर्डले अनुरोध गरेको छ । निवेदन आउँदो असोज मसान्तसम्म दिन सकिन्छ ।

कस्ता श्रमिकका छोराछोरीले छात्रवृत्ति पाउँछन् ?

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर मृत्यु वा अंगभंग, बिरामी भइ स्वदेश फर्किई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका श्रमिकका छोराछोरी ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्मका १८ वर्ष मुनिका बालबालिकाहरुले मात्र निवेदन दिन सक्नेछन् । यस्तै, निवेदन दिनको लागि गएको असार मसान्तभित्र बोर्डबाट पाउनुपर्ने आर्थिक सहायता पाएको हुनुपर्ने छ ।
यी कागजात पेश गर्नुपर्छ

निवेदन दिँदा श्रमिकको श्रम स्वीकृतिको स्टिकरको प्रतिलिपि, निवेदकको संरक्षकको नागरिकताको प्रतिलिपि, वैदेशिक रोजगारमा गई विदेशमा ज्यान गुमाएको व्यक्तिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि, बोर्डबाट आर्थिक सहायता लिएको प्रमाणित हुने पासापोर्टको प्रतिलिपि निवेदनका साथमा पेश गर्नुपर्ने बोर्डले जनाएको छ ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा अशक्त भएका श्रमिकको पूर्ण रुपमा अशक्त भएको खुल्ने कागजात। विद्यार्थी जन्मदर्ताको प्रतिलिपि, निवेदक, संरक्षक र श्रमिकबीचको नाता प्रमाणको प्रतिलिपि, सम्बिन्धित स्थानीय तहको सिफारिस आवश्यक पर्छ ।

यस्तै छात्रवृत्ति प्राप्त गरिरहेका बालबालिकाले भने निवेदन, अध्ययनरत विद्यालयको कक्षा खुल्ने सिफारिस पत्र र श्रमिकको राहदानीको प्रतिलिपि पेश गर्नुपर्छ । बोर्डले वर्षमा आधारभूत तहका विद्यार्थीका लागि ८ हजार र माध्यमिक तहका विद्यार्थीका लागि १२ हजार रुपैयाँ छात्रवृत्ति दिन्छ ।

एक विद्यार्थीलाई वर्षमा एक पटक बोर्डले एकमुष्ट रुपमा छात्रवृत्ति दिन्छ । छात्रवृत्तिका सम्बन्धमा थप बुझ्न परेमा श्रम कल सेन्टरमा टोल फ्री नम्बर ११४१ र बोर्डमा ०१ ५३२०३११,४३३ मा फोन गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.