साउन १२, बिहिबार २०७९
बैतडी- बैतडीको पाटन नगरपालिकाले शिक्षक दरबन्दी मिलान र बिद्यालय समायोजनको तयारी थालेको छ । कार्यपालिका बैठकबाट मापदण्ड निर्धारण गरेको पालिकाले नगर शिक्षा समितिबाट बिद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको प्रस्तावमाथी छलफल गरेको छ । पालिकाले जारी गरेको मापदण्ड अनुसार केहि बिद्यालयहरुको तह घटाइने उल्लेख गरिएको छ । नगर शिक्षा समितिले ९ वटा बिद्यालयलाई शिशुमा झार्ने प्रस्ताव अघि सारिएको छ ।
७ विद्यालयहरुलाई कक्षा ३ सम्म झार्ने, ४ वटा विद्यालयलाई ५ सम्म पढाई हुने गरी तह घटाउने प्रस्ताव अघि सारिएको छ । अन्य केहि विद्यालयको बारेमा अध्यान गर्ने र निरन्तरताको सुचीमा राख्ने प्रस्ताव अघि सारिएको छ । दरबन्दीको मिलानको बिषयमा पनि उथलपुथलको वातावरण सिर्जना गरिएको छ । तर उक्त विद्यालयको तह घटाउने र शिक्षक दरबन्दी मिलानको विषयमा विना अध्यान र छलफलबाट ह्वात्तै पास गर्न खोजिएको नगरपालिका श्रोतले जनाएको छ ।
यद्यपी समाजिक विकास समितिले भने वडास्तरीय शिक्षा समितिबाट आएको रायका आधारमा अघि बढ्ने बताएको छ ।
शिक्षा क्षेत्रको गतिबिधि हेर्ने समाजिक विकास समितिका संयोजक वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले वडा स्तरबाटै छलफल गरेर निष्कर्समा पुग्ने अडान राखेपछि वडास्तरको छलफलबाट टुङ्गो लगाउने सहमती भएको छ । जिल्ला समन्वय समितिका सदस्य, वडा नं ९ मा रहेको सिद्धेस्वर मावि हुक्केडाडाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाट र सिक्षा साखा प्रमुख बिर्खराज भट्टले लगेको विद्यार्थी संख्याको आधारमा तह घटाउने र शिक्षक दरबन्दी मिलानको उक्त प्रस्ताव छलफलबाट टुङ्ग्याउने आधारमा सहमती जुटेको छ ।
समजिक विकास समिति संयोजक बिष्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्र अ, शिक्षाविद, राजनितिज्ञ र अविभावकहरुबीच गहन छलफलपछि मात्रै बिद्यालय समायोजनको विषयमा टुङ्गोमा पालिकाले पुग्नु पर्ने अडान राखेपछि फेरी छलफलको बिषय बनाइने भएको छ । ‘अहिले नै अधिकार छ भन्दैमा सबै कुरा मनमर्जीले गर्दैनौँ,’ बिष्टले भने ‘सम्बद्ध सबैसँग छलफल गरेपछि मात्रै अघि बढ्छौ ।’ यस बिषयमा वडास्तरबाटै छलफल गर्नुपर्ने र शिक्षा समिति नभएका वडामा छिटो भन्दा छिटो शिक्षा समिति गठन गरि छलफल सुरु गर्न पनि भनिएको बिष्टले बताए ।
नगर उपप्रमुख कमल सिंह बोहराले पनि वडास्तरको छलफलबाटै विद्यालय समायोजन तथा दरबन्दी मिलानको प्रस्ताव अघि बढाउने बताए । सबैसँग सुझाव संकलन गरिने काम भइरहेको पनि उनले बताए ।नगर प्रमुख गौरी सिंह रावलले पनि सबैपक्षसँग छलफल गरेर अघि बढ्ने बताए । ‘बटम लाईन भनेकै वडा शिक्षा समिति हो, सबैको राय समेट्न हामिले यो खाका तयार परेका हौँ,’ उनले भने ।
यता जिल्ला समन्वय समितिका सदस्य तथा सिद्धेस्वर माविका विद्यालय वयवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले शैक्षिक गुणस्तर बृद्धीका लागि बिद्यालय समायोजन र दरबन्दी मिलानको खाका नगरपालिका सुहाउदो रहेको दाबी गरे । बिद्यालय समायोजन र दरबन्दी मिलानमा ब्याभारिक पक्षलाई हेरेरपनि बिद्यालय शिक्षकहरुको कोटा निर्धारण गरिएको उनले बताए । आफैले नियम बनाएको नगर कार्यपालिका सदस्य तथा समाजिक विकास साखाका पदाधिकारीहरुले कार्यान्वयन तर्फ चासो नदिएको उनले बताए ।
यस्तो छ नयाँ मापदण्ड
पाटन नगरपालिकाको शिक्षा समितिले तयार पारेको बिद्यालयको बिद्यार्थी संख्या अनुपातको शिक्षक दरबन्दी मिलानका लागि नयाँ मापदण्ड बनाएको छ ।
पाटन नगरपालिकामा अब शिशु कोटा आवस्यक भएको बिद्यालयमा २५ जना बिद्यार्थी संख्या हुनपर्ने भएको छ ।
१ देखि ३ सम्मको बिद्यालय सञ्चालनको लागि पनि ३० बिद्यार्थी संख्या अनिवार्य हुने भनिएको छ । ३० जना बिद्यार्थी भयो भने त्यहा २ शिक्षक परीपुर्ती गर्न सकिने भनिएको छ ।
कक्षा १ देखि ५ सम्मको बिद्यालयमा ६५ जना बिद्यार्थी संख्या अनिवार्य तोकेको छ । उक्त संख्याका बिद्यार्थी भयो भने शक्षक संख्या पनि ४ कायम गरिने छ ।
८ सम्मको लागि ११० बिद्यार्थी न्युनतम हुनुपर्ने ब्यवस्था कायम गरिएको छ । ८ सम्म्को बिद्यालयमा ११० कायम भयो भने ८ जना शिक्षक परीपुर्ती गरिने भनिएको छ ।
कक्षा १ देखि १० सम्मको बिद्यालयमा १७० बिद्यार्थी संख्या अनियार्व हुनुपर्ने भनेको छ सो संख्यामा बिद्यार्थी भयो भने उक्त बिद्यालयमा १३ जना शिक्षक परिपुर्ति गरिने उल्लेख गरिएको ।
यसैगरी १ देखि १२ सम्मको बिद्यालयमा २१० बिद्यार्थी अनिवार्य गरिएको छ उक्त पिबद्यालयमा १६ जना शिक्षकको परिपुर्ती गर्न सकिने भनिएको छ ।
कृष्ण बिष्ट……….