साउन १२, बिहिबार २०७९
काठमाण्डौ – राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा सङ्गठित अपराध बढ्ने चिन्ता थपिएको बताउनुभएको छ ।
आज बिहीवार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अङ्गीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताउनुभयो । उहाँले भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन भने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले यो प्रावधानले नेपालमा सङ्गठित किसिमको अपराध बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ । विदेशी देशको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन । उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन । उसँग दुई वटा नागरिकता कायमै रहन्छ । बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाहपछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो । यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ । भारतमा छोरीलाई विवाह गरेर पठाएमा सात वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ ।’
सदस्य देवकोटाले तीन करोड पनि जनसङ्ख्या नभएको नेपालमा तीन सय करोड जनसङ्ख्या भएको चीन र भारतको जनसङ्ख्याको सानो अंश यता–उता गर्दा नेपालको हालत के होला रु भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुग, नपुग तीन करोड पनि जनसङ्ख्या नभएको नेपालमा तीन सय करोड जनसङ्ख्या भएको चीन र भारतको जनसङ्ख्याको अति नै सानो अंश यता–उता गर्दा नेपालको हालत के होला रु हामीले यो पाटोलाई गम्भीर रूपमा हेरेनौँ, विश्लेषण गरेनौँ । कल सेन्टरको नाममा चिनियाँहरूको साइबर अपराध र भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै हप्ता प्रकाशित समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन् सङ्गठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ । दोहोरो नागरिकताको सम्भावना त छँदैछ ।’