आज भीमदत्त पन्तको ७० औं स्मृति दिवस, यसरी भएको थियो उनको हत्या

मेलौली न्यूज
श्रावण १७ मंगलबार,२०७९

मंगलबार सहिद भीमदत्त पन्तको ७०औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । सहिदको स्मृति दिवसको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा रहेको भीमदत्त पार्कमा रहेको पन्तको शालिकमा माल्यार्पण गरिएको छ।

यस्तै आज नै महेन्द्रनगरमा फलफूल वितरण गर्ने कार्यक्रम पनि रहेको भीमदत्त स्मृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकराज पन्तले जानकारी दिए। वि।स।२०७२ फागुन १९ गते सरकारले भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थियो। किसान योद्धाका रुपमा चिनिने पन्तको २०१० साल साउन १७ गते टाउको काटी हत्या गरिएको थियो।

कसरी भएको थियो उनको हत्या
१९८३ मंसिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मेका पन्त ‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका थिए। सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने व्यक्ति पनि थिए भीमदत्त। अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्तले २००७ सालदेखि आन्दोलनको सुरुवात गरेका थिए।

गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा विरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो। परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित, मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे। नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए। दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए। गर्बु थारु र लवरा थारु मन्त्री थिए। भान्सामा दलितहरुलाई सहभागी गराउन थाले।

किसानहरुलाई बेदखल गर्ने उनीहरुको नाममा जाली तमसुख बनाउने श्रमशोषण गर्ने ठालुहरुलाई कारबाही गर्न थाले। उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे। यस व्यवहारबाट कुँडिएका ठालुहरु उनलाई पागल भन्थे। कांग्रेससित बैचारिक भिन्तता आएपछि उनले अभिवादन गर्दा जय नेपाल भन्न छोडेर जय जनता भन्न थाले।

२६ पुस २००७ मा डडेल्धुरालाई मुक्तिसेनाले कब्जामा लिएपछि सहिद पन्त गभर्नर बने। दिल्ली सम्झौतको बिरोधगर्दै देशमा प्रजातन्त्र आए पनि राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा देखापरेका असमानता कायमै रहेकाले यसविरुद्ध आफ्नै नेतृत्वमा उनले आन्दोलन सुरु गरेका थिए। २००८ मा ‘किसान राज जिन्दावाद, शोषक सामन्त मुर्दावाद’ र ‘कि त जोत हलो कि त छोड थलो यदि होइन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गर्दै उनले शसस्त्र आन्दोलनको शुभारम्भ गरेको बुढापाखाहरु बताउछन्।

त्यस्तै, बेलौरीमा बैंक लुट्दा कब्जा गरेको पैसा सेनालाई तलबका रुपमा दिएर बाँकी पैसा कमैया र हलियालाई सहयोग गरेका थिए। शसस्त्र संघर्षका बेला ‘बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो गरिबका दिन आया ठालुको काल आयो,’ उनको चर्चित गीत थियो ।

२००९ सालमा कञ्चनपुरको ब्रहृमदेवमा लुकाएर राखिएको नूनको गोदाम कब्जा गरी किसानलाई वितरण गरेपछि नेपाली र भारतीय दुबै देशका शासकहरु उनका दुश्मन बन्न पुगे। २०१० साउन १७ गते डडेल्धुराको साविसको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेख भन्ने ठाउँमा खाना खाइरहेका बेला दुबै देशको सेनाहरुको टोलीद्वारा संयुक्त रुपमा घेरा हाल्न लगाई पन्तकै मित लालबहादुर थापाले उनको हत्या गरिएको भनिएको छ। तर यसको पुष्टि भएको छैन।

रेडियो सुदूरआवाजको अनलाईबाट

Leave A Reply

Your email address will not be published.