२ लाख रुपैयाँले शुरु गरेको तरकारीखेती ,कुखुरा र बाख्रा पालन व्यवसायबाट मासिक ५० हजार आम्दानी गर्दै पदम

लक्ष्मण विसी,साउन २१, शनिबार २०७९

बैतडी – बैतडीको मेलौली नगरपालिका–२ सेलीका युवा व्यवसायी पदम राज भट्टले अहिले मासिक रु ५० देखी ६० हजार सम्म आम्दानी गरिरहेका छन ।करिब दुई लाख लगानीमा पाँच वर्षदेखि शुरु गरेको तरकारी, कुखुरा र बाख्रा पालन व्यवसायबाट उनि मनग्य आम्दानी गर्न सफल छन ।

उनले बाख्रा,कुखुरा पालनसँगै तरकारी खेतीका लागि टनेल (प्लाष्टिक घर) निर्माण गरी विभिन्न थरीका तरकारी उत्पादन र बिक्री गर्दै आइरहेका छन । जय भगवती कृषी तथा पशुपालन फार्म दर्ता गरी सञ्चालन गरेको व्यवसाय सञ्चालन गरेको भट्टले बताए ।

अहिले टनेलभरि टमाटर,भान्टा,तितेकेला,खुर्सानी,बन्दा,काउली,लौका सिमी गोलभेँडा लगायतका अर्गानिक तरकारी लगाएका छन्। फलाएको धेरैजसो तरकारी गाउँमा पनि बिक्री हुने गरेको र बढी भएको र सिजनमा फलेको बेलामा स्थानिय बजार पाटन ,मेलौली,सलेना,र सम्म लगेर बिक्री गर्ने गरेको उनले बताए । ‘तरकारीको बजारमा माग उच्च छ, ताजा तरकारी लिन साहु घरमै आइपुग्छन’ भट्टले भने, ‘आफ्नो खेतमा उत्पादन भएको तरकारी संकलन गरेर साहुलाई एकमुष्ट दिने गरेको छु ।’ तरकारी ठूलो परिणाममा लगाउँदा अचम्म मान्ने गाउँमा अचेल तरकारी खेतीकै लहर चलेको छ ।

अहिले गाउँमा अन्य किसान पनि तरकारी खेतीमा जुटेका छन । यसरी गरेको व्यवसायले राम्रै आम्दानी पाइरहेकाले आफू सन्तुष्ट रहेको भट्टको भनाइ छ । थोरै क्षेत्रफलमा पनि मौसमी तथा बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएपछि भट्ट दम्पती तरकारी खेतीमा लागेका हुन ।भट्ट दम्पतीले तरकारी बेचेकै भरमा छोरीलाई उच्च शिक्षा पढाई रहेका छन । ‘छोरीको पढाइ राम्रै छ’, धना भट्ट भन्छिन ‘तरकारी बेचेर छोरा पढाएका छौं, जति पढ्छ पढाउने सोचमा छौं ।’ छोराको पढाइ देखेर आफूले दुःख भुलाउने गरेको उनी सुनाउछिन ‘तरकारी खेती गर्न थालेको ५ वर्ष पुगेछ ।’
तरकारी खेती संगै अहिले पोल्र्टी फर्ममा लोकल कुखुरा , ब्राईलर लगायतका अन्य जातीका कुखुरा र पन्छी पाल्दै आएका छन ।

स्थानीय , बोयर र उन्नत जातका बाख्रा पाल्दैै आएका उनले पैसा कमाउनकै लागि विदेश जानु नपर्ने बताए । स्थानीय जातको भन्दा बोयर जातका बाख्राबाट राम्रो आम्दानी हुँदै आइरहेको उनको भनाइ छ । ‘बाख्रापालनबाट राम्रो आम्दानी हुँदोरहेछ,’ उनले भने, ‘गाउँघरमै उद्यम गर्दा परिवारसँगै बस्न पाइएको छ ।’ गाउँमा स्थानीय जातका कुखराु, बाख्रापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा तरकारी खेती र पदमले करिब ६ रोपनी जमिनमा घाँसखेती समेत गर्नुभएको छ । ‘पैसा कमाउन विदेश जान पर्छ भन्ने छैन,’ ३७ वर्षीय भट्टले भने, ‘कृषि र पशुपालनमा लगानी गर्ने हो भने गाउँमै आर्थिक आर्जन गर्न सकिने रहेछ।’

Leave A Reply

Your email address will not be published.