लक्ष्मण विसी
जेठ ११, मगंलबार २०७८
बैतडी–पछिल्लो समय युवाहरु वैदेशिक रोजगारी त्यागेर स्वदेशमै उद्यमशीलतामा रमाउन थालेका छन्। बैतडीका एक युवा स्वदेश फर्केर बाख्रा पालन सुरु गरेपछि वार्षिक तीन लाख रुपियाँ कमाउन थाल्नु भएको छ। बैतडीको पाटन नगरपालिका–१ सकार गणेशपुका २५ वर्षीय युवा जयराज भट्टराई त्यस्तै युवामध्येका एक हुन्।
जसले भारतमा चार वर्ष बसेर फर्केपछि बाख्रापालन व्यवसाय गरिरहेका छन्। उनको जयलक्ष्मी बोयर बाख्रा फर्ममा यतिबेला स्थानिय र बोयर जातका बाख्रा हुर्किरहेका छन्। अहिले बाख्रा पालन संगै कुखुरा पालन व्यवसाय पनि सुरु गरेको भट्टराईले बताउनुभयो।विदेशको दुःख सम्झेर आफ्नै लगानीमा गाउँमै बाख्रापालन सुरु गर्दा अहिले उहाँ वर्षिक तीन लाख रुपयाँ आम्दानी गरिरहनु भएको छ।
भारतमा विभिन्न होटलमा खाना कपाउने र गाडी चलाउने काम गर्दा मालिकबाट हेपाई खानु परेको दुःख सम्झेर गाउँमै केही गछु भनेर बाख्रा पालन सुरु गरेको भट्टराईले बताउनुभयो। स्थानीय सरकारले सहयोग गरे आफ्नो गाउँलाई बाख्रापालन केन्द्रको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो। चरिचरनका लागि राम्रो मानिने बैतडीको सकार गाउँ बाख्रा पालनका लागि उपयुक्त स्थान रहेको पशु सेवा विज्ञ कार्यालय बैतडीले बताएको छ ।