लक्ष्मण विसी
जेठ १७ सोमबार,२०७८
बैतडी–बैतडीका विभिन्न ठाउँमा कोरोना कहरका कारण नागरिकमा त्रास कायमै रहे पनि यहाँका ग्रामीण क्षेत्रमा भने निर्बाध रुपमा धान रोपाइँ सुरु भएको छ। यहाँका गाउँघरमा अहिले रोपाइँ गर्नेको निकै भीड लाग्ने गरेको छ। कोरोना सङ्क्रमणलाई बेवास्ता गर्दै यहाँका गाउँघरमा रोपाइँले गर्दा चहल पहल पनि त्यत्तिकै मात्रमा बढेको स्थानीयवासीले बताएका छन ।
यस वर्ष जिल्लामा समयमै बर्सात भएको र यहाँका खोला नदी क्षेत्रमा पानी बढेका कारण रोपाइँ छिटो गर्नाका साथै सहज भएको मेलौली नगरपालिका –२ का निता भट्टले बताउनुभयो । उनले भने, “बन्दाबन्दीले खासै अरू काम पनि केही थिएन, समयमै बर्सात भएको छ, अनि रोपाइँ गर्न सुरु गरेका छौँ, कोरोनाको खासै चिन्ता छैन।”कोरोना महामारीका कारण जिल्लामा निषेधाज्ञा जारी भएपछि सहरी क्षेत्रमा प्रायः सुनसान भए पनि ग्रामीण भेगमा भने रोपाइँको चहलपहल सुरु भएको बताइएको छ।
मानो रोपेर मुरी फलाउने महिनाका रुपमा चिनिँदै आएको असार महिना लाग्न अझै दुई हप्ता बाँकी रहँदा समेत यहाँका गाउँघरमा रोपाइँको चटारो सुरु भएको पाटन नगरपालिका १का किसान करवीर भट्टराईले बताउनुभयो । कोरोना फैलिएपछि विदेश तथा अन्य ठाउँबाट सबै घरमै फर्किएकाले रोपाइँ गर्न सहज भएको किसानको भनाइ छ। वर्षाले समयमै रोपाइँ सुरु गर्न पाएपछि यहाँका कृषक हर्षित भएका छन्।
