जेठ २१, बैतडी । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बैतडीका १० ओटा स्थानीयतहका लागि साढे ३ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले स्थानीयतहहरुलाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरि चार ओटा शीर्षकमा अनुदान दिने गरेको छ । जसअन्तर्गत आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६५ करोड ७ लाख बजेट विनियोजन भएको हो ।
संघीय सरकाले बैतडीको लागि चालूतर्फ ३ अर्ब ३० करोड ७९ लाख रुपैयाँ र पूँजीगततर्फ ३४ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चार ओटा नगरपालिका र छ ओटा गाउँपालिका गरि १० ओटा स्थानीय तह रहेको बैतडीमा सबैभन्दा बढी बजेट पाटन नगरपालिकाका लागि विनियोजन भएको छ ।
यस्तै सबैभन्दा कम बजेट शिवनाथ गाउँपालिकाका लागि विनियोजन गरिएको छ । पाटन नगरपालिकाका लागि ४८ करोड ६१ लाख रुपैयाँ र शिवनाथ गाउँपालिकाका लागि २७ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
पुर्चौंडी नगरपालिकाका लागि ४६ करोड ९८ लाख रुपैयाँ, दशरथचन्द नगरपालिकाका लागि ४६ करोड ८३ लाख रुपैयाँ, मेलौली नगरपालिकाका लागि ३५ करोड ९६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यस्तै डिलाशैनी गाउँपालिकाका लागि ३५ करोड ७ लाख रुपैयाँ, दोगडाकेदार गाउँपालिकाका लागि ३५ करोड २४ लाख रुपैयाँ, सुर्नया गाउँपालिकाका लागि ३१ करोड २२ लाख रुपैयाँ, सिगास गाउँपालिकाका लागि २९ करोड ९३ लाख रुपैयाँ, पञ्चेश्वर गाउँपालिकाका लागि २७ करोड ९१ लख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटबाट स्थानीयतहहरुले महत्वपूर्ण गौरवका योजना निर्माण गर्ने बताएका छन् ।