हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

पाँच वर्ष मुनिका हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ।

६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ। सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ।

भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो।

Leave A Reply

Your email address will not be published.